काठमाडौं । नेपालको ढुवानी तथा वस्तु आपूर्ति क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित ‘सारथी लजिस्टिक्स प्रा लि’ ले आजदेखि देशभर सेवा सुरु गरेको छ।
स्वयम्भू ठूलोभऱ्याङ, काठमाडौंमा मुख्यालय रहेको यस कम्पनीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीसहित १५ स्थानबाट एकसाथ सेवा विस्तार गर्दै आधुनिक लजिस्टिक्स समाधानको सुरुवात गरेको हो।
कम्पनीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरीयर तथा पार्सल डेलिभरी, फ्लीट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, साथै रिभर्स लजिस्टिक्स सेवा उपलब्ध गराउनेछ। ग्राहकहरूले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुक गर्न, रियल–टाइम ट्र्याकिङ गर्न र पारदर्शी सेवा उपयोग गर्न सक्नेछन्।
सारथी लजिस्टिक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले भने, ‘नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको हो। हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा उपलब्ध गराउनु हो।’
१५ वर्षभन्दा बढी अनुभव भएका ढुवानी क्षेत्रका पेशाकर्मीहरू, सूचना प्रविधि विज्ञ तथा चार्टर्ड एकाउन्टेन्टहरूले सञ्चालन गरेको व्यवस्थापन टिमको नेतृत्वमा रहेको सारथीले नेपालको ढुवानी क्षेत्रमा आधुनिक र भरपर्दो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
सस्तो, छरितो र डिजिटल माध्यममार्फत सेवा उपलब्ध गराउने सारथीले व्यवसायिक क्षेत्रका साथै व्यक्तिगत ढुवानी आवश्यकतामा पनि भरपर्दो समाधान ल्याउने विश्वास व्यक्त गरेको छ।