काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको गम्भीर आरोप लगाएको छ।
नाइमाले दीर्घकालीन सुधारका लागि पेश गरिएका सुझावहरू नीति निर्माणमा समावेश नभएकोप्रति आपत्ति जनाउँदै कर्जा प्रवाह, जोखिम भारित सम्पत्ति, र सस्तो वित्तीय पहुँचजस्ता विषयमा मौनता निराशाजनक भएको जनाएको छ।
संघले सबै खालका सवारीका लागि कर्जा अनुपात ८०–२० कायम गर्न, चिनियाँ उत्पादन भएका सवारीका लागि युआनमा एलसी खोल्न दिनुपर्ने, र सवारी कर्जालाई ‘सुरक्षित कर्जा’ मान्दै जोखिम भारित दर १०० बाट घटाएर ७५ प्रतिशत पुर्याउनुपर्ने सुझाव राखेको थियो। तीमध्ये कुनै पनि मौद्रिक नीतिमा समावेश नगरिनु अटो क्षेत्रको सम्भावना र सुधार प्रक्रियाप्रति बेवास्ताको सङ्केत भएको नाइमाको ठहर छ।
संघले रियल स्टेट, शेयर बजार र अन्य क्षेत्रका लागि नीति स्पष्ट देखिए पनि अटो क्षेत्रलाई छुटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। यस्तै, युआन एलसी सम्बन्धी विषयवस्तु आजको अन्तर्राष्ट्रिय व्यापार सन्दर्भमा व्यवहारिक भए पनि मौद्रिक नीतिमा समावेश नगरिनु खेदजनक रहेको नाइमाको भनाइ छ।
अन्त्यमा, कर्जा आपूर्तिमा सुधार ल्याउने नीति सकारात्मक भए पनि त्यसको लाभ अटो क्षेत्रमा पुग्ने गरी स्पष्ट योजना नल्याइएको नाइमाको टिप्पणी छ। संघले राष्ट्र बैंकसँग आफ्ना सुझावहरूलाई पुनः समावेश गर्न आग्रह गरेको छ।