Logo

होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार, नागरिकलाई आर्थिकरूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने

होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार, नागरिकलाई आर्थिकरूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने



काठमाडौं । पाल्पाको स्थानीय सरकारले घरबास (होमस्टे) लाई प्रोत्साहन गर्दै आएको छ । होमस्टेमार्फत नागरिकलाई आर्थिक रूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने योजनासहित यहाँको तिनाउ गाउँपालिकाले होमस्टेलाई प्रोत्साहन गर्दै आएको हो ।

होमस्टे तालिम लिन चाहनेलाई तालिम दिने, सीप लिइसकेकालाई होमस्टे सञ्चालनका लागि आवश्यक बीउ तथा पुँजी उपलब्ध गराउँदै आइएको पालिका कार्यालयले जनाएको छ । महिला होमस्टेतर्फ रुचि राख्न थालेपछि गाउँपालिकाले ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको हो ।

महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा तालिम दिइएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उल्लेख गरे । उनका अनुसार यहाँका छ वटै वडामा होमस्टेमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले तालिम दिइएको हो ।

गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उनको भनाइ छ । तालिम लिइसकेकालाई पालिकाले बीउ तथा पुँजी वितरण गरेको छ । ‘पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमा उत्पादन गर्ने अभियानका साथ बाख्रा, बङ्गुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्गवासीलाई बीउ तथा पुँजी वितरण गरेको हो’, उनले भने ।

लोकल कुखुरापालन तालिममा सहभागी ३० जनालाई नौ वटाका दरले लोकल कुखुरा, बङ्गुरपालनमा सहभागी २८ जनालाई एक÷एक वटा बङ्गुरको बच्चा, बाख्रापालनमा सहभागीलाई एक÷एक वटा बाख्रा, तरकारी खेतीमा सहभागीलाई दुई÷दुई वटा टनेल, सिँचाइका लागि दुई÷दुई वटा प्लाष्टिक ड्रम, पाइप स्प्रिङकल, मौरीपालनमा सहभागीलाई एक÷एक वटा आधुनिक मौरी घारलगायत समान गाउँपालिकाले वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पाहुना राख्नका लागि जन्तीलङमा सात, मरामकोटमा दुई वटा पाहुनाघर निर्माण भएका छन् । गाउँपालिकाले होमस्टेमा चाहिने महका लागि मौरी, मासुका लागि कुखुरा बाख्रा, बङ्गुर, तरकारीका लागि मौसमी बेमौसमी तरकारी खेती प्रवद्र्धनका साथै स्थानीयलाई तालिम प्रदान गरेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार हाल मरामकोटमा पाँच घर र जन्तीलुङ्गमा १२ घरमा होमस्टे सञ्चालन भइरहेका छन् । गाउँमै बसेर पर्यटन व्यवसायका माध्यमबाट आयस्रोत बढाउन होमस्टे व्यवसायलाई प्रवद्र्धन गर्दै बीउ तथा पुँजीसहितको तालिम सञ्चालन गरिएको उनले बताए । पालिकाका उपाध्यक्ष लालबहादुर थापाले मरामकोट र जन्तीलुङ्ग प्रशस्त सम्भावना बोकेको स्थान भएकाले महिनामा प्रतिपरिवारबाट लाखौँ रुपैयाँ कमाउन सकिने स्थिति देखेर पालिकाबीच साझेदारी गरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जन्तीलुङ्ग मरामकोट प्राकृतिक रूपमा सुन्दर ठाउँ रहेकाले हिमालदेखि तराईसम्मका दृश्य एकैस्थान हेर्न सकिने बताउँदै प्राकृतिक सुन्दरतामा रमाउन पर्यटकको आकर्षण बढ्दै गएको उल्लेख गरे । उनले पर्यटनका माध्यमबाट स्थानीयस्तरमा रोजगारी र आम्दानी बढाउन पालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । यहाँको वडा नंं ६ मस्याम, वडा नंं ५ मरामकोट, वडा नंं ४ को सत्यवतीमा होमस्टेको सुरुआत भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारीमा महिला जुटेका अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

यहाँ अहिले केही स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई राख्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति एक हजार २०० रुपैयाँमा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु र बिहानको खाजाको ‘प्याकेज’ रहेको छ । प्राकृतिक रूपमा सुन्दर रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्