काठमाडौं(जस)–सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको हो ।
समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेका छन् ।
समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ । समितिलाई भिजिट भिसा वितरणमा देखिएका अनियमितता, प्रक्रिया र सम्भावित शक्ति दुरुपयोगका विषयमा ३० दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसदमा विरोध गर्दै आएका छन् ।
सरकारले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको सहमतिअनुुसार समिति गठन गरिएको हो । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो छलफल गरेका थिए ।