Logo

इजराइलबाट फर्कन ८८५ नेपालीले नाम टिपाए, इरानमा रहेका ११ नेपाली भोलिसम्म भारत आइपुग्ने

इजराइलबाट फर्कन ८८५ नेपालीले नाम टिपाए, इरानमा रहेका ११ नेपाली भोलिसम्म भारत आइपुग्ने



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको जानकारी दिइन्। त्यसमा ८८५ जनाले विवरण भरेको उनले बताइन्। मन्त्री राणाले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन्।

‘१३ जुनदेखि नै हामी प्रेस विज्ञप्ती जारी गर्‍यौं । त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ । रहेक दिनजसो म राजदूतज्यूहरुसँग समेत सम्पर्क गरेर बुझ्ने प्रयास गरिरहेको छु। त्यो बाहेक अन्य देशमा रहनु भएको राजदूतहरुसँग नेपाली नागरिकको सुरक्षाका सन्दर्भमा निरन्तर छलफल हुँदै आएको छ। जुन १७ देखि अनलाईन पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन शुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८८५ जनाले दर्ता गर्नुभएको छ। अबको एक-दुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौं,’ मन्त्री राणाले भनिन्। उनले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताइन् । उनले इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्याथी वीपिन जोशीको रिहाईको लागि समेत सरकार प्रयासरत रहेको बताइन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले क्रोएसियामा मृत्यु भएका रवी महतो सुरीको शव नेपाल ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री राणाले सुरीको शव नेपाल ल्याउन रकम अपुग भएकाले ढिलाइ भएको बताइन्। उनले अपुग रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले शव यथाशीघ्र ल्याउन दूतावासले आवश्यक प्रक्रिया अघि बढाएको बताइन्। यसैगरी मन्त्री राणाले गैरआवासीय नेपालीको ज्ञान, सीप एवं पूँजीलाई नेपालको विकासमा लगाउन तथा निजी क्षेत्र र सरकारी निकायहरूसँग जोड्ने सन्दर्भमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराइन्।

इरानमा १६ नेपाली नागरिक, पाँच जना जेलमा

युद्धग्रस्त इरानमा रहेका १६ जनामध्ये ११ नेपाली नागरिक भोलिसम्म भारत आइपुग्ने परराष्ट्र मन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन्। तेहरानबाट उनीहरू इरानको मदस शहरमा पुगेको मन्त्री देउवाले जानकारी दिइन्।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री देउवाले इरानमा रहेका नागरिकलाई भारतले उद्धार गरेर ल्याइदिन लागेको बताएकी हुन्। ‘१६ जना नागरिक इरानमा हुनुहुँदोरहेछ, भारत सरकारले नेपालीलाई पनि उद्धार गरेर ल्याइदिन्छु भनेको छ । ११ जना मसदमा आइपुग्नु भएको छ, सायद भोलि भारतमा आउनु हुन्छ’ मन्त्री देउवाले भनिन्, ‘गैरकानूनी ढंगले गएका पाँच जना जेलमा छन्। यही बेला रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरेका छौं।’

मन्त्री देउवाले इरान–इराजालयबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्तै गम्भीरताका साथ नियालिरहेको बताएकी छन्। ‘ती क्षेत्रमा नेपालीको सुरक्षालाई उच्च प्राथमिकता साथ कार्य गर्दै आइरहेको छौं। इजरायल र इरानमा रहेका नागरिकलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेका छौं’, मन्त्री देउवाले भनिन्। पछिल्लो अवस्थाबारे हरेक दिन बेलुका, इजिप्ट, कतार र पाकिस्तानमा रहेका राजदूतसँग नागरिकलाई उद्धार गर्न प¥यो भने कस्तो रणनीति लिने भनेर छलफल गरिरहेको मन्त्री देउवाले बताइन्।

प्रतिक्रिया दिनुहोस्