काठमाडौं । संसद्को जारी अवरोध आजबाट हट्ने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सदनको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । भिजिट भिसा प्रकरणले सदनको अवरोध कायमै थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले रास्वपालाई पनि साथमै लिएर जान सकिनेमा अन्तिमसम्म प्रयास गरेको थियो । तर, यो दुई बुँदे सहमतिमा रास्वपा सहमत नभएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको हस्ताक्षर रहेको छ । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालले पनि तीन दलबीच २ बुँदे सहमति भएको स्पष्ट पारे । उनले अब सदन खुल्ने बताए । तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा भनिएको छ,‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अस्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।’
यस्तै, दोस्रो बुँदामा लेखिएको छ,‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।’