काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन्। नेपालले आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै आफूले कसैबाट अनुचित लाभ नउठाएको बताएका छन्।
उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु। कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु। त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ। मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन। त्यसको प्रमाण पेस गरियोस् ।’
आज रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जलि जस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन।’
आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरेका छन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ।’
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको ।