काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा ३४ अर्ब बढीको सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको असार मसान्तको तुलनामा चालु आवको चैत मसान्तसम्म यस्तो कर्जा ३७ प्रतिशतले बढेको हो ।
ऋण असुलीको तनाव सामना गरिरहेका बैंकहरुले अन्य क्षेत्रमा अपेक्षित कर्जा प्रवाह नगरेपछि सेयर धितो कर्जामा भने उल्लेखित सुधार भएको देखिन्छ । गत असारसम्म नेपालमा ९० अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएकोमा चालु आवको चैत मसान्तसम्म उक्त कर्जा बढ्दै १ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।
यस अवधिमा प्रवाह भएको कर्जामध्ये १ करोडमाथिको कर्जामात्रै २८ अर्ब ७६ करोड रुपैयाँ बराबर प्रवाह भएको देखिन्छ । गत असारसम्म ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको यस्तो कर्जा चैत मसान्तसम्म बढ्दै ८४ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो । यस्तै पछिल्लो ९ महिनामा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा २ अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रवाह हुँदा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा २ अर्ब २१ करोड रुपैयाँ बराबरको प्रवाह भएको देखिन्छ । यसै अवधिमा २५ लाख रुपैयाँभन्दा तलको कर्जामात्रै ६२ करोड ९६ लाख रुपैयाँ बराबरको प्रवाह भएको देखिन्छ ।
तथ्यांकअनुसार ठुलो अर्थात २५ लाखदेखि माथिका कर्जाहरुमा उल्लेख्य प्रगति भएपनि साना लगानीकर्ताहरुले भने उल्लेख्य रुपमा कर्जा नलिएको देखिन्छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म नेपालमा ५० लाखदेखि १ करोडसम्मको सेयरधितो कर्जा १४ अर्ब ८३ करोड, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६४ करोड र २५ लाख तलको कर्जा जम्मा ७ अर्ब ९४ करोड रुपैयाँमात्रै प्रवाह भएको छ ।
केन्द्रिय बैंकको नीतिअनुसार एक व्यक्तिले एक वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन सक्छ, र सेयरको मूल्यांकन १८० दिनको औसत बजार मूल्य वा प्रचलित मूल्यमध्ये कम हुनेको ७० प्रतिशत सम्म हुन्छ । बजारको उतारचढाव र मार्जिन कलको जोखिमलाई ध्यानमा राख्दै, लगानीकर्ताले कर्जा लिनुअघि आफ्नो भुक्तानी क्षमता र बजारको स्थिरता राम्ररी विश्लेषण गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।