Logo

टेलिकमको उल्टो अर्थतन्त्र : बजार हिस्सा बढेको बढ्यै, आम्दानी घटेको घट्यै

टेलिकमको उल्टो अर्थतन्त्र : बजार हिस्सा बढेको बढ्यै, आम्दानी घटेको घट्यै



काठमाडौं । सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा सफल संस्थाका रुपमा रहँदै आएको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पछिल्लो समय खस्किदै गएको छ । ग्राहक संख्या, सेवा विस्तार, कुल आयलगायतका सूचकका आधारमा नेपाल टेलिकम हालसम्म पनि नेपालकै पहिलो ठुलो दूरसंचार सेवाप्रदायकको रुपमा रहेको छ ।

टेलिकम वर्षौदेखि कायम राख्दै आएको सफल र बलियो कम्पनीको साख अब भने खस्कदै गएको कम्पनीका विभिन्न सूचकहरुले देखाउँछन् । पछिल्लो ५ बर्षको तथ्यांकलाई केलाउँदा मात्रै पनि टेलिकमको आय, नाफालगायत लगातार ओरालो लाग्ने क्रममा छ । दूरसंचार पहुँचसँगै ग्राहक र उनीहरुले प्रयोग गर्ने डाटाको भोल्युम बढेपनि टेलिकमको आय र नाफा भने निरन्तर ओरालो लागिरहेको देख्न सकिन्छ ।

टेलिकमको वित्तीय विवरणलाई नियाल्दा गएको आर्थिक बर्ष २०८०/८१ मा टेलिकमको खुद आम्दानी ४१ अर्ब ६१ करोड रुपैयाँमा खुम्चिएको छ । आर्थिक बर्ष २०७४/७५ मा ४५ अर्ब २७ करोड रुपैयाँ नाघेको टेलिकमको खुद आम्दानी त्यसयता लगातार घट्दो अवस्थामा छ । टेलिकमको तथ्यांकलाई आधार मान्दा गएको आर्थिक बर्षमा टेलिकमले आर्जन गरेको खुद आम्दानी पनि आघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा २ अर्ब ८० करोड रुपैयाँले कम हो । अघिल्लो आवमा टेलिकमले ४४ अर्ब ४२ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो ।

खासगरी २०७५/७६ मा ४३ अर्ब ८४ करोड रुपैयाँ रहेको टेलिकमको आम्दानी त्यसको पछिल्लो २ बर्ष अर्थात आव २०७६/७७ र २०७७/७८ मा लगातार घट्दै क्रमशः ४२ अर्ब ९९ करोड र ४२ अर्ब २१ करोड रुपैयाँमा झरेको थियो । तर, आव २०७८/७९ मा पुनः आम्दानी उकालो लाग्दै ४४ अर्ब ३७ करोड र आव २०७९/८० मा ४४ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो । तर, उक्त उकालो यात्रा टेलिकमले जारी राख्न नसक्दा गत आवमा टेलिकमको आम्दानी पौने ३ अर्ब बढीले घटेको हो ।

यसरी आम्दानी घटिरहँदा टेलिकमको नाफा पनि सोहीअनुसार ओरालो लागिरहेको तथ्यांकमा देख्न सकिन्छ । तथ्यांकअनुसार आर्थिक बर्ष २०७४/७५ मा हालसम्मकै उच्च अर्थात एकै बर्ष १७ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको टेलिकम त्यसपछि निरन्तर ओरालो यात्रामा देखिन्छ । पछिल्लो बर्ष आव २०७५/७६ मा टेलिकमको नाफामा झण्डै ८ अर्बको गिरावट आउँदै ९ अर्ब ७६ करोड रुपैयाँमा झर्यो ।

टेलिकमको नाफा घटने क्रम त्यतिमै रोकिएन र त्यसयता प्रत्येक आर्थिक बर्षहरुमा कम्पनीको नाफामा लगातार गिरावट आइरहेको छ । टेलिकमले आव २०७६/७७ मा ९ अर्ब ७५ करोड, २०७७/७८ मा ७ अर्ब १३ करोड, २०७८/७९ मा ८ अर्ब ४७ करोड र आव २०७९/८० मा ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, गएको आर्थिक बर्ष २०८०/८१ मा कम्पनीको नाफा झन नाजुक अवस्थामा पुगेर जम्मा ६ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो ।

विश्वबजारमा बढ्दो दूरसंचार सेवाको उपयोगको टेलिकम सेवाप्रदायकहरुले फाईदा लिईरहेका बेलामा नेपाल टेलिकमले अधोगतिको बाटो समातेको यी तथ्यांकहरुले देखाउँछ । यता सेवा विस्तारमा भने टेलिकमले पछिल्लो करिव ३ बर्षमा भनेबमाजिम सेवा विस्तार गर्न सकेको छैन । करिव २ बर्ष अघि नै नेपालभरका ९५ प्रतिशत स्थानमा फोरजी सेवा विस्तार भइसकेको भनिएकोमा हालसम्म विस्तार शून्यमा सीमित छ । करिव ३ बर्ष अघि अप्टिकल फाईबरमार्फत एउटै तारमा तीन अर्थात टेलिफोन, टेलिभिजन र डाटा सेवा प्रवाह गर्नेगरी अघि बढाइएको फाईबर टु दी होम (एफटीटीएच) सेवा पनि लक्ष्यबमोजिम उल्लेख्य प्रगति हुन नसकेको तथ्यांकहरुमा देखिन्छ ।

तर, टेलिकमले भने आम्दानी र नाफा घट्नुको कारण सेवा विस्तार हुन नसक्नुलाई मात्रै मान्दैन । पछिल्लो समय विश्वबजारमै टेलिकम कम्पनीको नाफा घट्नुको प्रमुख कारण नै ओटीटी सेवा रहेकाले त्यसको प्रभाव टेलिकममा पनि देखिएको टेलिकमका सहायक प्रवक्ता परमात्मा भट्टराई बताउँछन् । ‘अहिले विश्वभरका टेलिकम कम्पनीको आम्दानी ओटिटी (ओभर द टप) प्लेटफर्मकै कारण घट्दो अवस्थामा छ,’ उनले भने, ‘यसैको असर नेपाली टेलिकम कम्पनीहरुमा पनि परिरहेको छ ।’ पछिल्ला बर्ष लगातार आम्दानी घट्नुमा सबैभन्दा ठूलो दोष नै ओटिटी प्लेटफर्म रहेको टेलिकमको बुझाई छ ।

गत आवमा कम्पनीको आम्दानी र नाफामा उच्च गिरावट आउनुमा भने कम्पनीले जीएसएम अनुमतिपत्रको तेस्रो नवीकरणका लागि एकैपटक सरकारलाई २० अर्ब रुपैयाँ बुझाउँदा पनि केही असर परेको टेलिकमको बुझाई छ । एकैपटक २० अर्ब रुपैयाँ बुझाउनका लागि कम्पनीले बैंकमा मुद्दती निक्षेपमा रहेको पैसालाई परिपक्व नहुँदै निकालेको र त्यसले ब्याज आम्दानीमा असर गरेको उल्लेख छ ।

यस्तै टेलिकम सरकारी दूरसंचार सेवाप्रदायक भएकै कारण दूर्गममा पनि र न्यून आय हुने स्थानमा पनि सेवा पुर्याउनुपर्ने हुनाले लगानी अनुसारको आम्दानी नहुने सहप्रवक्ता भट्टराई बताउँछन् । त्यसमाथि विभिन्न सस्ता प्याकेजको असर पनि आम्दानीमा परेको उनको भनाई छ । यता दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा हाल कम्पनीको भ्वाईस सेवा लिने ग्राहकको संख्या २ करोड २२ लाख र डाटा प्रयोगकर्ताको संख्या २ करोड १७ लाख हाराहारीमा छ ।

बजार हिस्सा बढेको बढ्यै

पछिल्ला ३ बर्षको तथ्यांकलाई नियाल्दा नेपाल टेलिकमको बजार हिस्सा भने लगातार उकालो लागिरहेको देख्न सकिन्छ । प्राधिकरणको तथ्यांकअनुसार विसं २०७८ साल चैतसम्म नेपालको भ्वाईस टेलिफोन सेवामा नेपाल टेलिकमको हिस्सा जम्मा ५४ प्रतिशतमात्रै छ । त्यसयता दुई वर्षमा मात्रै नेपालको भ्वाईस सेवामा टेलिकमको हिस्सा बढेर ६३.२३ प्रतिशत पुगेको छ ।

यसले पछिल्ला २ वर्षमा मात्रै बजार हिस्साका हिसाबले टेलिकमका ग्राहक संख्या लगातार बढेको देखाउँछ । यसरी ग्राहक संख्या बढेपनि कम्पनीको आम्दानी र नाफा भने लगातार खुम्चिदो अवस्थामा छ । सामान्यता ग्राहक बढेको खण्डमा कम्पनीको सञ्चालन आय बढेर समग्र आम्दानीमा सकारात्मक प्रभाव पार्नुपर्नेमा उल्टो आम्दानी घटेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL