Logo

एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?

एक हप्ता अघिमात्रै सुरु भएको लाइसेन्स छपाई पुनः रोकियो, अब के होला ?



काठमाडौं । लामो समय बन्द रहेर करिव १ हप्ता अघिदेखि मात्रै सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई पुनः रोकिएको छ । लामो समयसम्म आनाकानी गरिरहेको भारतीय कम्पनीसँगको लफडा सल्टिएसँगै गत हप्तादेखि मात्रै सुरु भएको लाइसेन्स छपाई पुनः सफ्टवेयरमा समस्या आएको भन्दै रोकिएको हो । खासगरी भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले कार्ड आपुर्तिको जिम्मा आफुलाई नपरेको भन्दै लामो समयदेखि कार्डमा पर्सनलाईजेसनको काम रोकेको थियो ।

laxmi

जर्मनीको मुलबहुर कम्पनीबाट आएका कार्डहरु करिव २ महिनापछि मात्रै एमएसपीले यसको जिम्मा लिएर गत हप्तादेखि छाप्न सुरु गरेको थियो । डाटा पर्सनलाईजेसनमै बखेडा झिकिरहेको एमएसपी नेपाली प्रणाली र विभागबाट रुष्ट हुँदाहुँदै पनि लाइसेन्स छाप्न सुरु गरेको थियो । तर, पुनः विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र भेहिकल रजिष्ट्रेसन सिस्टम (इडीएलभिआरएस)मा समस्या देखिएको भन्दै छपाईको काम बन्द भएको हो ।

यो प्रणाली हाल पूर्णरुपमा एमएसपीकै कब्जामा छ । खासगरी नेपालका सवारी दर्ता र स्मार्ट लाइसेन्सको सबै डाटा त्यहि सिस्टममा छ । त्यो सिस्टम नै नचलेपछि हाल लाइसेन्स छपाई नै रोकिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । ‘सिस्टममा केहि समस्या आएपछि लाइसेन्स छपाई नै रोकिएको छ,’ उनले भने, ‘करिव डेढ हप्ता अघिमात्रै सुरु भएको लाईसेन्स छपाई सिस्टममा आएको गडबडीका कारण रोकिँदा यसमा अन्यौलता छाएको छ ।’

हालसम्म स्मार्टकार्ड अभाव झेल्दै आएको यातायात व्यवस्था विभागले स्मार्ट कार्ड आउँदा पनि प्राविधिक पाटोमा भारतीय कम्पनीसँग सहमति जुटाउन सकेको थिएन । यसअघि गत असोजदेखि नै विभागमा स्मार्टकार्ड सकिएसँगै विभागले अत्यावश्यक लाइसेन्स मात्रै प्रिन्ट गरेर वितरण गर्दै आएको छ । जर्मनीको मुलबहुर कम्पनीलाई कार्ड आपुर्तिका लागि जिम्मा दिएपनि कम्पनीले भनेबमोजिम समयमै उक्त कार्डहरु नेपाल ल्याउन नसकेपछि विभाग अन्यौलमा थियो । त्यसपश्चात गत पुस २६ गते जर्मनीको कम्पनीले नेपालमा उक्त कार्ड ल्याइपुर्याएपनि त्यसमा डाटा पर्सनलाईजेशनको काम गर्ने एमएसपीले पर्सनलाईजेसनमा आनाकानी गरिरहेको थियो ।

अघिल्लो हप्ता मात्रै विभागले जर्मनीको कार्ड आपूर्तिकर्ता कम्पनीका पदाधिकारी र एमएसपीका पदाधिकारीलाई राखेर सहमतिको प्रयास गरेको थियो । उक्त प्रयासले समहमति जुटेपछि कार्डमा डाटा पर्सनलाईजेसनको काम अघि बढेसँगै यसको छपाइ पनि सुरु भएको थियो । हाल विभागले प्रतिदिन ३ हजारको हाराहारीमा लाईसेन्स छापिरहेको थियो । तर, कुनै निश्चित एक कार्यालयका लागि आवश्यक कार्डहरु सबै छापिसकेपछि मात्रै उक्त कार्यालयमा छापिएका कार्डहरु पठाउने तयारी गरेको विभागले जानकारी दिएको छ । लगातार करिव ७ महिनासम्म बन्द भएको लाइसेन्सको छपाई र वितरणका कारण हालसम्म लाइसेन्सका प्रयोगात्मक सबै परिक्षा पास भएर लाइसेन्स नपाउनेको संख्या करिव १३ लाख पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL