Logo

साउदी अरबस्थित नेपाली राजदूतावासको स्पष्टीकरण, तोकेको राजस्वबाहेक कुनै पनि रकम नलिने गरेको दाबी

साउदी अरबस्थित नेपाली राजदूतावासको स्पष्टीकरण, तोकेको राजस्वबाहेक कुनै पनि रकम नलिने गरेको दाबी



काठमाडौँ । साउदी अरबस्थित नेपाली राजदूतावासले कतिपय फाइल सदर गरेबापत रोजगारदाता कम्पनीहरुबाट रकम लिने गरेको आरोप लगाइआएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो समाचारको खण्डन गरेको छ ।

laxmi

उक्त दूतावासले विज्ञप्ति प्रकाशन गरी सो समाचारको खण्डन गरेको हो । समाचारमा यस विषयमा उजुरी परेको भनिएकामा यसप्रकारको उजुरी मन्त्रालय तथा सो नियोगमा समेत प्राप्त नभएको पनि स्पष्ट गरेको छ ।

नेपाली राजदूत नवराज सुवेदी, उपनियोग प्रमुख डा डमरुबल्लभ पौडेल र द्वितीय सचिव टीकाराम उपाध्यायको नाम राखेर आएको सो समाचार सत्य नभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त विज्ञप्तिमा नियोगमा यस प्रकारको कुनै उजुरी प्राप्त भएमा नियमानुसार कारबाही गरी आवश्यक जवाफ पठाइने पनि जनाइएको छ ।

विज्ञप्तिमा विद्यमान अनलाइन मागपत्र प्रमाणीकरण प्रक्रियाअनुसार ‘अपरेटर’, ‘डकुमेन्ट भेरिफिकेशन अफिसर’ र श्रम ‘काउन्सेलर’ले आ–आफूलाई तोकिएका विषयहरुको जाँच गरिसकेपछि राजदूत÷उपनियोग प्रमुखबाट स्वीकृत हुने गरेको र राजदूतावासले प्रमाणीकरणका सन्दर्भमा नेपाल सरकारले तोकेको राजस्वबाहेक कुनै पनि रकम नलिने गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

राजदूताबासले सीमित स्रोत र साधनका बाबजुद पनि सेवा दिइरहेको उल्लेख गर्दै सो विज्ञिप्तमा भनिएको छ, “साउदी अरबमा रहेका नेपाली समुदायको सहयोग र समन्वयमा यस राजदूतावासले सीमित स्रोतसाधन तथा साउदी अरबको विशाल भूगोल, विषम हावापानी र भिन्न परिवेशका बाबजुद पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहजरुपमा राहदानी, कन्सुलर, उद्धार, आश्रयस्थल, बहिर्गमन भिसा, शव फिर्ता, बीमा तथा क्षतिपूर्ति दाबी र घर फिर्तीलगायतका सेवा दिइरहेको सबैमा सर्वविदितै छ ।”

साथै दूताबासले मागपत्र प्रमाणीकरण, उद्धार, घर फिर्तीलगायतका कुनै पनि समस्या परेमा तत्काल समाधान गर्न नेपाली राजदूताबास रियादले इजाजत पत्रवालाहरुको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभागलगायतका सरोकारवाला निकायहरुसँग समयसमयमा अनलाइन अन्तक्र्रिया गरी समाधान गर्ने गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL