Logo

निर्यातमा अस्थिरता, पहिलो स्थानमा रहेको खानेतेलको निर्यात संकटमा पर्दा स्टिलको निर्यात चम्कियो

निर्यातमा अस्थिरता, पहिलो स्थानमा रहेको खानेतेलको निर्यात संकटमा पर्दा स्टिलको निर्यात चम्कियो



काठमाडौं । पछिल्ला ४ बर्षदेखि नेपालको निर्यात व्यापारमा पहिलो स्थान ओगटको खाने तेलको निर्यात अहिले संकटमा छ । कुनै बेला खहरे खोलाझै उर्लिएको खानेतेलको निर्यात अहिले सुकेको छ । पछिल्लो समयमा स्टिल तथा फलामको निर्यात एकाएक बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको आयात निर्यातको तथ्यांकअनुसार अघिल्ला बर्षहरुको तुलनामा चालु आवको ८ महिनामा स्टिलजन्य वस्तुको निर्यात ह्वात्तै बढेको छ । विभागको तथ्यांकलाई केलाउँदा गत आवको यही अवधिको तुलनामा चालु आवको ८ महिनामा स्टिल तथा फलामको निर्यात करिव ५ अर्ब बढीले बढेको छ ।

laxmi

गत आर्थिक बर्षको फागुनसम्म ६ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको साढे ५ करोड किलो निर्यात भएको स्टिलजन्य वस्तु यो बर्षको त्यही समयमा बढेर ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ बराबरको ९ करोड ६२ लाख किलो निर्यात भएको हो । गत आवको यही अवधिमा यसको आयात भने ५४ अर्ब बराबरको हुँदा चालु आवको सो अवधिमा यस्तो आयात ८६ अर्ब बराबरको भएको छ । पछिल्लो समय ह्वात्तै बढेको जस्तापाताको निर्यातले पनि यसअघि खानेतेलको निर्यातजस्तै अस्थिर प्रकृतिको व्यापार बढाउने व्यापारक्षेत्रका जानकारहरु बताउँछन् । आव २०७६÷७७ देखि लगातार उकालो लागेको खानेतेलको निर्यातले गत आर्थिक बर्षको अन्त्यसम्ममा निरन्तरता पाएको थियो । यस अवधिमा कुनै बर्ष नेपालले करिव ६८ अर्ब रुपैयाँ बराबरको खानेतेले भारतमा निर्यात गरेको थियो । जुन नेपालको कुल निर्यातको झण्डै ६० प्रतिशतसम्म हुन्छ ।

तर, भारत सरकारले विदेशबाट आयात हुने कच्चा तेलको र तेलजन्य पदार्थको भन्सारमूल्य घटाएपछि नेपालबाट निर्यात हुने प्रशोधित खानेतेलको निर्यात एकाएक खुम्चियोे । भारतीय बजारमा स्वदेशकै प्रशोधित खानेतेल सस्तो पाइने भएपछि नेपालबाट तेल विक्री हुनै छोड्यो र लामो समयसम्म नेपाली उद्योगीले उत्पादन गरेको तेल गोदाममै थन्कियो । हाल नेपालबाट हुने खानेतेलको निर्यात घटेर धेरै निर्यात हुने वस्तुको करिव १२ औं स्थानमा पुगेको छ । अर्थात यसअघि नेपालको निर्यात व्यापार कुनै निश्चित वस्तुमा बढ्दै गएको देखिएपछि भारत सरकारले नै उक्त निर्यातलाई प्रभावित पार्न तत्काल नीति परिवर्तन गर्ने गरिएको देखिन्छ । पछिल्लो समय नेपालबाट भारततर्फ निर्यात बढिरहेको प्लाइउडको व्यापारलाई पनि प्रभावित तुल्याउन भारतले यसको कर र गुणस्तरमा प्रश्न उठाएको देखिन्छ ।

यद्यपि पछिल्लो समय नेपालबाट निर्यात एकाएक बढेको स्टिलजन्य वस्तुको निर्यात पनि भारतमै केन्द्रित छ । यदि एकै वस्तु ठूलो मात्रामा कुनै निश्चित देशमा मात्रै निर्यात भईरहेको अवस्थामा उक्त देशले उक्त वस्तुको लागि सानो नीति परिवर्तन गरिदिनेवित्तिकै नेपालको निर्यात व्यापार नै संकटमा पर्छ । तसर्थ यस्ता वस्तुको निर्यातमा विविधिकरण गरी तेस्रो मुलुकसम्म पनि पठाउनुपर्ने र एकै वस्तु भन्दा फरकफरक वस्तुहरु एकै देशमा गएको खण्डमा व्यापार सहजीकरण हुने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिृकत कृष्णराज बजगाईँ बताउँछन् । ‘यसअघि भारतीय बजारमा नेपालबाट ठुलो मात्रामा निर्यात भइरहेको खानेतेल, प्लाइउडलगायतको जस्तो समस्या स्टिलजन्य वस्तुले पनि भोग्नुपर्ने निश्चित छ,’ उनले भने, ‘यस्तो खहरे निर्यातले न नेपालको व्यापारमा केही प्रभाव पार्छ न राजस्वमै ।’

नेपालका फलाम उद्योगीहरुले भारतबाट बर्षेनी करोडौं टन आइरन बिलेट, स्टिल रोललगायत आयात गर्छन । त्यसलाई प्रशोधन गरी जस्तापाता, स्टिल रड, आइरन फर्निचरलगायत वस्तु उत्पादन गरेर भारतीय बजारमा विक्री गरिरहेका छन् । हुन त कुनै वस्तु विदेश निर्यात गर्नुपर्दा कम्तीमा त्यसमा ३० प्रतिशत भ्यालु एड हुनैपर्छ । सोही कुरालाई मध्येनजर गर्दा भारतबाट ल्याएको स्टिल रोललाई प्रशोधन गरी जस्तापातालगायत वस्तु उत्पादन गरेर उतै पठाइरहेको जानकारहरु बताउँछन् ।

नेपालको सीमा नजिकका भारतीय शहरहरु, बिहार, पटनालगायतका सहरमा विक्री भइरहेको नेपाली जस्तापातामा भारत सरकारले जुनसुकै बेला नयाँ प्रावधान लगाउने निश्चित छ । यस्तो भएको अवस्थामा नेपालको बढेको निर्यात व्यापार पनि एकाएक ओरालो लाग्ने र पुनः पुरानै अवस्थामा फर्किने निश्चित छ । हाल नेपालबाट निर्यात हुने वस्तुको सूचीको सबैभन्दा पहिलो स्थानमै स्टिलजन्य पदार्थ छ । यसको व्यापार एकाएक बढेसँगै चालु आर्थिक बर्षको ८ महिनामै नेपालको निर्यात व्यापार पनि १ खर्बमाथि पुगेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

स्वदेशी उत्पादनको निर्यात ओरालो

प्रशोधित वस्तुको आयात एकाएक बढेपनि नेपालबाट शतप्रतिशत स्वदेशी वस्तुको निर्यातमा भने गिरावट आएको छ । विभागको तथ्यांकलाई हेर्दा नेपालबाट निर्यात हुने वास्तविक वस्तुहरु चिया, कफी, गलैँचा, धागो, तयारी पोशाकलगायतका निर्यात घटेको देखिन्छ । विभागका अनुसार गत आर्थिक बर्षको पहिलो ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा गलैचाको निर्यातमात्रै ३० करोड रुपैयाँ बराबरले घट्दा चिया कफीको निर्यात ७५ करोड रुपैयाँले घटेको देखिन्छ ।

यसै अवधिमा नेपालबाट निर्यात हुने अर्काे मुख्य वस्तु तयारी पोशाक र धागोको निर्यात भने क्रमशः ५ करोड र ५० करोडले घटेको छ । अघिल्ला बर्ष उच्च निर्यात भएको खानेतेलको निर्यात भने गत आवको ८ महिनाको तुलनामा चालु आवमा १८ अर्ब रुपैयाँले घटेको देखिन्छ । गत आवमा यस्तो खानेतेल २३ अर्ब बढीको निर्यात हुँदा चालु आवमा उक्त निर्यात घटेर ५ अर्ब रुपैयाँमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL