Logo

दिनमै ३० पटकसम्म बिजुली जाँदा उद्योगी हैरान : अर्बाैँका उपकरणमा क्षति, उत्पादन प्रभावित

दिनमै ३० पटकसम्म बिजुली जाँदा उद्योगी हैरान : अर्बाैँका उपकरणमा क्षति, उत्पादन प्रभावित



काठमाडौं । विद्युत प्रवाहमा दैनिक समस्या उत्पन्न भएपछि उद्योग सञ्चालनमा समस्या उत्पन्न भएको छ । उद्योगहरुमा दैनिक २० देखि ३० पटकसम्म बिजुली नआउने समस्याले पूर्वका औधोगिक क्षेत्रमा समस्या खडा भएको हो । नेपालमा सुक्खायाम सुरु भएसँगै देखिने विद्युत उत्पादनमा गिरावटको समस्याले सबैभन्दा बढी मर्कामा उद्योगीहरु परेको उनीहरुको भनाई छ ।

laxmi

हाल दैनिकजसो २० देखि ३० पटकसम्म बिजुली जाँदा उद्योगहरुको उत्पादनमा गिरावट र जडान गरिएका उपकरणमा ठूलो क्षति पुगिरहेको उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल बताउँछन् । उनका अनुसार नेपाल विद्युत प्राधिकरणसँग पटकपटक गुणस्तरीय बिजुली उद्योगहरुमा पठाउन आग्रह गरिएपनि हालसम्म यो लागू नहुँदा उद्योगहरुको क्षमतामा नै ह्रास आएको छ ।

खासगरी प्राधिकरणले बिजुलीको लोड नपुगेको बेलामा उद्योगको बिजुली काटेर अन्तै वितरण गरिदिँदा यो समस्या निम्तिएको उनको भनाई छ । ‘उद्योगमा आउने बिजुलीलाई अन्य स्थानमा लोड कम भएको अवस्थामा काटेर अन्तै वितरण गर्ने गरिएको जानकारी हामीले पाएका छौं,’ उनले भने, ‘यसैका कारण हाम्रा उद्योगहरुमा आउने बिजुली दैनिक करिव ३० पटकसम्म ट्रिप हुन्छ र एक्कासी बिजुली जाँदा चलिरहेका उपकरणहरुमा ठूलो क्षति पुग्छ ।’

खासगरी नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ भएको भन्न चाहँदैन । तर, लगातार बिजुली काटिरहँदा उद्योगीहरु भने बिजुली कटौतीको तालिका नै दिए सहज हुने बताउँदै आएका छन् । बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल पनि यस्तै समस्याले पछिल्लो समय उद्योगीहरु प्रताडित भएको बताउँछन् । डेडिकेटेड ट्रंक लाइनको विवादका कारण प्राधिकरणले उद्योगीहरुको बिजुली काटिदिएपछि दैनिक बिजुली जाने समस्या झन बढेको उनी बताउँछन् । ‘विवादअघि केहि सहज नै थियो,’ उनले भने, ‘विवादकै कारण एकपटक लाइन काटेर पुनः जोडियो त्यसपश्चात यसमा समस्या थपियो र दैनिक १० पटकसम्म उद्योगको बिजुली काटिदै आएको छ ।’ उनले भएकै बिजुली पनि न्यून भोल्टेजको आउने र यसले उपकरण संचालनमा समस्यासँगै उत्पादन नै प्रभावित हुने बताए ।

यस बिषयमा विद्युत प्राधिकरणसँग बुझ्न हाल सुक्खायामका कारण बिजुलीको उत्पादन नै न्यून भई पर्याप्त बिजुली वितरण गर्न नसकिरहेको बताउँदै आएको उनले जानकारी दिए । यस्तो भएको खण्डमा उद्योगहरुमा जाने बिजुलीको निश्चित तालिका बनाइनुपर्ने र भएको बिजुली पनि गुणस्तरिय दिए उद्योगीहरुलाई राहत हुने उनी बताउँछन् । ‘सुक्खायाम लागेर बिजुली उत्पादन कम भएको कुरा हामी पनि बुझ्छौं,’ उनले भने, ‘तर, त्यस्तो हो भने बिजुली कुन बेला कतिखेर काट्ने भन्ने तालिका वा जानकारी दिएपनि हामी आभारी हुने थियौं ।’

प्राधिकरणले उद्योगहरुमा जाने बिजुली बेलाबेलामा काटिदिने गर्नाले उद्योगहरुमा कामदारको सिफ्ट मिलाउन पनि समस्या हुने उनी बताउँछन् । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा विजुलीको माग ३२ हजार २ सय १३ मेगावाट आवर पुगेको छ । तर, नेपालमा भारतबाट आयात गरिएको र नेपालमा उत्पादिन बिजुली जम्मा २९ हजार ७ सय २ मेगावाट आवर बिजुली मात्रै उपलब्ध छ । यसरी माग र उपलब्ध बिजुलीको अन्तर मात्रै करिव २५ सय मेगावाट आवर बराबर छ । अर्थात हाल नेपालको विद्युत प्रणालीमा अझै २५ सय मेगावाट आवर बिजुली अपुग छ ।

नेपालमा धेरैजसो जलविद्युत आयोजनाहरु रन अफर रिभर (आरओआर) प्रविधिमा आधारित छन् । यस्ता आयोजनाबाट नदीको पानीको स्तर अनुसार बिजुली उत्पादन हुने भएकाले सुक्खायाममा क्षमताजति बिजुली उत्पादन हुँदैन । जसका कारण नेपालले भारतबाट बिजुली आयात गरी खपत गर्नुपर्छ । तर, पछिल्लो समय भारतबाट आयात गर्दागर्दै पनि प्रणालीमा बिजुली अपुग छ । जसको प्रभाव उद्योगहरुले व्यहोर्नुपरिरहेको देखिन्छ ।

हाल नेपालमा नेपाल विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाबाट ४ हजार ८ सय ३९ मेगावाट आवर, सहायक कम्पनीहरुबाट २ हजार ५ सय ७५ मेगावाट आवर र निजी क्षेत्रबाट ९ हजार ८ सय ४६ मेगावाट आवर बिजुली उत्पादन भइरहेको छ । यसले प्रणालीमा अपुग भएपछि प्राधिकरणले भारतबाट १३ हजार ५ सय मेगावाट आवर बिजुली खरिद गरिरहेको बताएको छ । हाल नेपालमा बिजुलीको उच्चतम माग मात्रै १७ सय मेगावाट बढी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL