Logo

सफल होला वित्त र निजी क्षेत्रलाई त्रास देखाएर लगानी सम्मेलन ? नेपालमा लगानी गर्न आउलान बिदेशी लगानीकर्ता ?

सफल होला वित्त र निजी क्षेत्रलाई त्रास देखाएर लगानी सम्मेलन ? नेपालमा लगानी गर्न आउलान बिदेशी लगानीकर्ता ?



काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरिसकेको छ । तर, सरकारकै कारण पछिल्लो समय निजी क्षेत्र तथा वित्त क्षेत्र त्रासमा छन् । सरकारले निजी क्षेत्र तथा बैंकिङ क्षेत्रलाई त्रासमा राखेर लगानी सम्मेलन गर्ने योजना अगाडि बढाइरहेको भन्दै आलोचना पनि भइरहेको छ । निजी क्षेत्रलाई बिभिन्न नीतिगत विषयमा अल्झाएर राखिरहेको सरकार पछिल्लो समय बैंकरहरुलाई अध्ययन र जानकारीविना हिरासतमा लिएको कारण आलोचित बनेको छ ।

laxmi

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले तोकेको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न व्यक्तिहरु भन्दै गत बुधबार तत्कालीन प्रभु बैंकका डिसिईओसहित तत्कालीन सेन्चुरी बैंकका पूर्ब सिईओ समेतलाई पक्राउ गर्यो । जुन कुराले अहिले बैंकिङ क्षेत्रमा एक खालको त्रास फैलिएको छ । अधिकांश बैंकरहरुले यसरी मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह गरेकै भरमा बैंकरहरु लगेर थुन्ने हो भने बैंकरले नै जेल भरिने कुरा बताउँदै आएका छन् । अर्कोतिर बैंक तथा वित्तीय संस्था डुब्दै छन भन्ने त्रास पनि फैलिएको छ । बैंक तथा वित्तीय संस्था सबल छन भनेर राष्ट्र बैंक तथा बैंकहरुले स्पष्टीकरण दिएपनि बैंकहरुमा खराब कर्जाको बढ्दो अवस्थालाई नकार्न आम नागरिकले सकेका छैनन् । यस कारणपनि अहिले बैंकिङ प्रणालीमा समस्या देखिएको छ ।

यसैगरी सरकारले चालु आर्थिक वर्षको आर्थिक विद्येयकमार्फत लिएको कर नितीले पनि निजी क्षेत्र सरकारसंग रुष्ट छ । अहिलेको आर्थिक संकटको बेला सरकारले उधोग व्यवसायलाई चलायमान बनाउन असहयोग गरेको भन्दै उधोगी व्यवसायीमा निरासा छाएको छ । देशमा देखिएको आर्थिक संकटलाई समाधान गर्न नसकेको सरकारले गर्न लागेका लगानी सम्मेलन सफल हुनेमा अहिले प्रश्न उठेको छ । अहिले बैंकिङ तथा निजी क्षेत्रमा देखिएको समस्याले विदेशीहरुको लगानी सम्मेलनमा सहभागितामा खासै फरक नपर्नेभएता पनि लगानी भित्र्याउन भने यसले समस्या सिर्जना गर्ने सम्बद्ध जानकारहरु बताउँछन । सरकारले लगानी सम्मेलन सम्पन्न गर्न अहिले देशको कन्ट्री रेटिङ (शाखः मूल्यांकन) को कामलगायत अन्य कामहर तीव्र रुपमा अगाडि बढाइरहेको छ । अर्थमन्त्रालयले कन्ट्री रेटिङको लागि विश्वमा देशको क्रेडिड रेटिङ गर्ने तीन ठूला कम्पनीमध्येको एक कम्पनी फिच रेटिङ्स कम्पनीलाइै रेटिङको काम जिम्मा लगाइसकेको छ । उक्त कम्पनीले देशको रेटिङको काम धमाधम गरिरहेको अर्थमन्त्रालय बताउँछ ।

नेपाल राष्ट्र बैंकले केही वर्षअघि नै नेपाली बैंकहरूले विदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरे पनि हालसम्म आउँदा बैंकहरुले विदेशबाट एकदमै न्यूनमात्रामा मात्र ऋण भित्र्याउन सफल भएका छन । देशको क्रेडिट रेटिङ नभएको र विदेशबाट ल्याउने ऋण डलरको उतारचढावका कारण महँगो हुने भएकाले अप्ठ्यारो परेको बैंकरहरुको बुझाई थियो । कन्ट्री रेटिङ र हेजिङसम्बन्धी काम सम्पन्न नहुँदा बैंकहरुले तरलता कम भएको बेला बाह्य ऋण ल्याउन नसक्ने अवस्था थियो । जसलाई सजह गर्न भन्दै सरकारले कन्ट्री रेटिङको काम पूरा गर्न लागेको थियो । तर, अहिले बैंक तथा निजी वैदेशिक लगानी भित्र्याएर काम गर्नेभन्दा पनि देशमा भएको पैसा लगानी कसरी गर्ने तनावमा छन । अहिले बैंकिङ प्रणालीमा अर्बौ रुपैयाँ थुप्रिएर बसेको छ । तर, बैंकहरु कर्जा लगानी गर्नसक्ने अवस्थामा नभएको एक बैंकर बताउँछन । सरकार तथा राष्ट्र बैंकले लिएका केही नीतिका कारण विदेशी लगानीकर्तालाई नेपालमा टिकाउन नै गाह्रो अवस्था रहेको बैंकरहरुको बुझाई छ ।

‘सरकारले आज एउटा नीति लिन्छ, भोलि अर्को नीति ल्याएर निजी क्षेत्र तथा बैंकिङ क्षेत्रलाई यो कर तिर भन्दिन्छ,’ ती बैंकर भन्छन, ‘अहिले नेपालमै भएका लगानीकर्ता कति बेला आफुसँग भएको लगानी फिर्ता लिने र पलायन हुने भन्ने मुडमा छन ।’ सरकारले स्थिर नीति लिन नसक्दा देशमा भएको लगानी बाहिरिरहेको उनको बुझाई छ । यसैगरी, अहिले निजी क्षेत्र माथि भएको धरपकडले लगानी गर्ने लगानीकर्तालाई पनि त्रसित बनाएको उनी बताउँछन । यसैगरी, देशमा भएको पैसा लगानी गर्न अहिले सरकार तथा निजी क्षेत्र कसैले नयाँ योजना बनाउन सकेका छैनन् । यता सरकारले समयमा आफुले गरेको प्रतिवद्धताको भुक्तानीसमेत गर्न सकेको छैन । सरकारले पुँजीगत खर्च गर्न नसक्दा अहिले अर्थतन्त्र नै सुस्त भएको छ । ‘नेपालमा लगानी भित्र्याउनको लागि निजी क्षेत्रको आत्मविश्वास बढाउनु पर्ने बेला छ, तर, सरकारले निजी क्षेत्रको मनोवल खस्काउने काम गरिरहेको छ ।’ बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल भन्छन ।

अहिले विषेश गरी बैंकिङ क्षेत्रमा भइरहेको गतिबिधिले सरकारले गर्न लागेको लगानी सम्मेलनलाई असर पुर्याउने पौडेलको बुझाई छ । विदेशी लगानी भित्र्याउन आर्थिक क्षेत्रमा ‘कन्फिडेन्ट’ चाहिन्छ,’ उनी भन्छन, ‘तर अहिले सबै क्षेत्र सुस्त छ ।’ उनका अनुसार निजी क्षेत्र र बैंकिङ क्षेत्रको सम्बन्ध नजिकको हुन्छ । उधोग व्यवसायमा संकट आयो भने बैंकिङ क्षेत्रमा पनि समस्या देखिन्छ । अहिलेको अर्थतन्त्रको समस्या पनि त्यही रहेको उनी बताउँछन । नेपालमा अहिलेको अवस्थामा विदेशी लगानी ल्याउन सहज वातावरण हुनु आवश्यक रहेको उनी बताउँछन । ‘कुनै पनि लगानीकर्ताले नेपालमा लगानी गर्दैछ भने, त्यहाँबाट कसरी फाइदा लिन सकिन्छ ? भनेर नाफा कमाउने आधार खोजेर लगानी गर्छ ।’ उनी भन्छन, ‘तर अहिलेको अवस्थामा देशको वित्तीय अवस्था देखाउने बैंकिङ क्षेत्र नै नाफामा चल्न अप्ठयारो अवस्था आएको छ ।’

यसैगरी, अर्थमन्त्रालयले भने आगामी वैशाखमा जसरी पनि लगानी सम्मेलन आयोजना गर्ने गरी काम गरिहेको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए । सरकार लगानी सम्मेनल सफल पार्न लागिपरेको उनको दावी छ । यता बैंकिङ क्षेत्रमा भएको पछिल्लो गतिविधिले लगानी सम्मेलनलाई खासै असर नगर्ने अर्थमन्त्रालयका एक अधिकारी बताउछन । ‘छानबिन गर्ने निकायलाई लगानी सम्मेलन नहुन्जेल छानबिन नगर भन्न मिल्दैन ।’ अर्थमन्त्रालय स्रोत भन्छ, ‘राष्ट्र बैंकले अहिले बजारमा आएजस्तो समस्या हैन भनेर बोलिरहेको छ ।’ अहिले बजारमा आएको बैंक डुब्ने हल्ला कुनै एक व्यक्तिले आफ्नो स्वार्थको लागि गरेको र त्यस्तो कुराले लगानी सम्मेलनलाई असर नगर्ने स्रोतको बुझाई छ ।

यसैगरी, अहिले बैंकिङ क्षेत्रमा बैंकर पक्राउको विषय रहेको र यसमा सिआईबीले अनुसन्धानय गरिरहेका कारण सरकारले यसमा केहि गर्न नसक्ने स्रोत बताउँछ । ‘अनुसन्धानको विषयमा सरकारले हस्तक्षेप गर्न मिल्दैन ।’ अर्थमन्त्रालय स्रोत भन्छ, ‘अहिलेको घटनाले समग्र बैंकिङ क्षेत्रमा समस्या भनेर देखाउँदैन ।’ यसैगरी, जुन बैंकबाट कर्मचारी पक्राउ भएका छन त्यो बैंकले बैंकिङ कसुरसम्बन्धित कानुन उल्लंघन गरेको छ भने कारबाही हुने र नभए अनुसन्धानमात्र हुने दाबी अर्थको छ ।

कुनैपनि निकायले आफ्नो जिम्मामा लिएर गरेको अनुसन्धानले गर्दा लगानी सम्मेलनमा असर पर्ने कुरा गलत भएको र अनुसन्धानको कारण सरकारले सममेलन नगर्ने भन्ने कुरा गलत रहेको स्रोत बताउँछ । ‘अहिले बैंकिङ प्रणालीमाथि भइरहेको हल्ला पनि सकारात्मक हैन भनेर राष्ट्र बैंकका गभर्नरले नै भनिसक्नुभएको छ,’ स्रोत भन्छ, ‘राष्ट्र बैंक र सरकारको तर्फबाट अहिले बैंक डुब्दै छ भनेर गरिएको हल्ला सही हैन भनेर प्रष्ट्याउने काम भइसकेको छ ।’ बैंक तथा वित्तीय संस्थाले पनि आफु सबल रहेको वित्तीय विवरणका प्रमाणहरु पेस गरिसकेका छन् । सो कारण अहिलेको समस्याले लगानी सम्मेलनलाई असर नपर्ने सरकार पक्षको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL