Logo

‘बैंकिङ क्षेत्र सहज र सुदृढ अवस्थामा छ, हामी लगानीको अवसर कुरिरहेका छौं’

‘बैंकिङ क्षेत्र सहज र सुदृढ अवस्थामा छ, हामी लगानीको अवसर कुरिरहेका छौं’



काठमाडौं । पछिल्लो केहि समययता बैंकिङ क्षेत्रको लागि अफ्ठयारो अवस्था सिर्जना भएको छ । बैंकिङ क्षेत्रको बारेमा धेरै नकारात्मक कुराहरु फैलाइएको छ । जसका कारण बैंकिङ क्षेत्रले अहिले असुरक्षित महसुस गरेको छ । ऋण नतिर्ने भनेर सडकमा आन्दोलन भइरहेको छ । ऋण नतिर्ने भन्ने आन्दोलन लघुवित्त क्षेत्रमा अझ व्यापक भएको छ । यो बेलामा बैंकिङ क्षेत्रले सरकारबाट जुन खालको सहयोग पाउनुपर्ने हो त्यो हामीले पाएका छैनौं ।

laxmi

यसैबीचमा बाहिर एउटा हल्ला आएको छ । बैंकहरु खत्तम भए, बैंकहरु डुबे, बैंकहरु समस्यामा छन् । बैंकिङ क्षेत्रको बारेमा यसरी बाहिर फैलाइएको हल्लामा सत्यता छैन । यसको प्रमाण हामीले सार्वजनिक गरेका तथ्यांकले पनि देखाउँछन् । हामीले सार्वजनिक गर्ने हरेक तथ्यांकमा राष्ट्र बैंकले दैनिक रिर्पोटिङ गरिरहेको हुन्छ । जसको कारण हाम्रो तथ्यांक पूर्णरुपमा तथ्यपरक हुन्छ ।

हाल बैंकिङ क्षेत्रमा ७ खर्ब १९ अर्ब रुपैयाँको चुक्तापुँजी छ । अहिलेको अवस्थामा सम्पूर्ण बैंकिङ क्षेत्रको पुँजी कोष हेर्ने हो भने १२.९२ प्रतिशत रहेको छ । पुँजी कोष ११ प्रतिशत कायम गर्दा पुग्ने राष्ट्र बैंकको व्यवस्था छ । तर, बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथिल्लो स्तरमा नै पुँजी कोष कायम गरिरहेका छन् । यसकारण पुँजी कोष व्यवस्थापनमा पनि हामी सहज अवस्थामा छौं । अहिले बैंकिङ क्षेत्रमा अलिकति अप्ठ्यारो अवस्था आएको भनेको खराब कर्जा बढेको हो । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा कुल खराब कर्जा ३.४० प्रतिशत रहेको छ । यसैगरी, खुद खराब कर्जा भने बैंकिङ क्षेत्रको १.१३ प्रतिशतमात्र रहेको छ । बाहिरबाट हेर्दा खराब कर्जाको रेसियो केहि बढेको देखिएको भएता पनि हामी कन्ट्रोलमा नै छौं ।

बैंकको खराब कर्जा बढ्नुको कारण केहि समूहद्वारा सिर्जना गरिएको नकारात्मक हल्लाले ऋण लिएका मानिसले ब्याज नतिरिका कारण पनि हो । ऋण तिर्न पर्दैन मिनाहा गर्न लगाउछौं भनेर केहि समूह तथा व्यक्तिले सडकमा आन्दोलन गरिरहेका छन् । यस्तो भ्रममा परेर अहिले कतिपय आफुसंग पैसा भएका व्यक्तिले पनि बैंकको कर्जाको सावाँब्याज तिरेका छैनन् । जसको कारण बैंकको खराब कर्जा बढ्दो छ । कोभिडको सयममा भएको नेतृत्वको आर्थिक अवरोधले पनि अहिले बैंकको खराब कर्जा बढ्न पुगेको छ । यसैगरी, व्यवसाय पुनरुत्थान गर्न सरकारी प्रोत्साहनको अभावको कारण उधोगीहरुले आफ्नो उधोगहरु पुर्णरुपमा चलाउन सकेका छैनन् । यता आपूर्ति श्रृंखला अवरोधहरू, विश्वव्यापी आर्थिक अनिश्चितता र कमोडिटी मूल्यवृद्धि, साना तथा मझौला उद्योग क्षेत्रका चुनौतीहरु लगायतका कुराले खराब कर्जा बढेको छ । अहिले सुस्त आर्थिक गतिविधि छ भने घट्दो मागको अवस्था रहेको छ ।

यस्ता बिभिन्न समस्या हुँदाहुँदै पनि अहिले नै बैंकिङ क्षेत्रमा खासै ठूलो असर भने परिसकेको अवस्था छैन । अहिले बैंकिङ क्षेत्रले निक्षेपको १८ प्रतिशत पैसा सरकारी फण्डमा लगानी गरेको छ । यो बचत कर्जाको सुरक्षित निक्षेप हो । बैंकहरुको सिडि रेसियो पनि ८० प्रतिशतको हाराहारीमा रहेको छ । यसैगरी, निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्न हामीले विभिन्न कोषहरुमा लगानी गर्दै आएका छौं । यसैगरी, हामीले प्रोभिजनको लागि पनि रकम छुट्याएका छौं । हामीले १२ खर्ब रुपैयाँको हाराहारीमा सरकारी फण्डमा लगानी गरेका छौं ।

पछिल्लो केहि समय अगाडी बैंकिङ क्षेत्रको आधारदर धेरै भयो भन्ने गुनासोहरु आएको थियो । तर, अहिले आएर ब्याजदर कम भइसहेको अवस्था छ । अहिले औसत कर्जाको ब्याजदर ११.६५ प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो आर्थिक वर्षमा कर्जाको औसत ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको थियो । छोटो समयमा ब्याजदर धेरै तल आइसहेको छ । यसैगरी, बैंकहरुको आधार दर ९ प्रतिशतको हाराहारीमा आइसकेको छ । अझै पनि ब्याजदर घटेदो क्रममा रहेको छ । यी सबै सूचकहरु हेर्दा बैंकिङ क्षेत्र सहज अवस्थामा छन । अहिले मूख्य समस्या भनेको बैंकले लगानी कर्तालाई दिने लगानी प्रतिफल घट्नु हो ।

आर्थिक वर्ष २०७७–७८ मा १२.०९ प्रतिशत रहेको बैंकहरुको लगानी प्रतिफल दर (आरओई) चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा ९.६० प्रतिशतमा झरेको छ । कुनै समय बैंकहरुलाई नाफा धेरै कमाए भनेर आरोप लगाउने गरिएको थियो । अहिले बैंकको नाफा पनि घट्दो अवस्थामा छ । यता बैंकको वितरणयोग्य नाफा पनि घट्दो अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७५–७६ मा २६.७३ प्रतिशत रहेको बैंकहरुको वितरण योग्य नाफा चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा १०.१३ प्रतिशत नकारात्मक बनेको छ । अर्थतन्त्रमा अहिलेकै अवस्था रह्यो भने चालु आर्थिक वर्षको अन्त्यसम्म कुनै पनि बैंकले लाभांश बाँड्न सक्ने अवस्था रहदैन । यसको बारेमा हामीले सोच्नुपर्ने बेला भएको छ ।

आजको दिनमा प्रमुख आर्थिक अवस्था हेर्ने हो भने ब्याजदर बढ्ने क्रम रोकिएको छ र स्थिर हुन खोजिरहेको छ । पछिल्लो चार पाँच महिनायता अमेरिकाकै कुरा गर्ने हो भने ब्याजदर नबढाउने खालको निर्णय भएको छ र पछिल्लो नीतिमा त्यहाँको मूल्यवृद्धि २ प्रतिशत कायम गर्ने लक्ष्य राखेको थियो । तर, अहिले ३.२ प्रतिशत पुगेको छ । यसैगरी, अमेरिकामा पनि बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको देखिन्छ । यसकारण अमेरिकामा पनि तुरुन्तै ब्याजदर घट्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठेको छ । अन्य सरकारी तथ्यांक र ग्रोथ राम्रो देखिएको कारण त्यहाँ ब्याजदर स्थिर रहन्छ भनेर अनुमान गर्न सकिन्छ । अन्य मुलुकमा ब्याजदर कम हुँदै गइरहेको कारण नेपालमा पनि अब ब्याजदर नियन्त्रणमा नै रहन्छ ।

यसैगरी, २०२३ मा इङल्याण्डमा १० प्रतिशतभन्दा माथि गएको मूल्य वृद्धिको अहिले घटेर ४ प्रतिशतमा झरेको छ । युरोपमा २०२३ मा ८.६० रहेको मूल्य वृद्धि अहिले २.८० मा झरेको छ । यसैगरी, छिमेकी देश भारतको कुरा गर्दा २०२३ मा ६.५२ प्रतिशत रहेको मूल्यवृद्धि अहिले घटेर ५.१० प्रतिशतसम्म आइपुगेको छ । यसरी अन्य देशमा मूल्यवृद्धि घट्दा नेपालको लागि पनि सुखद मान्न सकिन्छ । यस्ता कुराले पहिले हामी जुन खालको अवस्था पुगेका थियौं, त्यो बाट बाहिर आउन खोजिरहेको यी तथ्यांकहरुले देखाउँछ । नेपालमा पनि एकपटक ८ प्रतिशतभन्दा माथि भएको मूल्यवृद्धि अहिले ५ प्रतिशतको हाराहारीमा आइसकेको छ । यसले बैंकिङ क्षेत्रलाई अगाडि बढाउनको लागि केहि सहज हुन्छ । जसको कारण तरलतामा पनि सहजता हुन्छ ।

अहिले अवस्थामा सरकारको तर्फबाट अलि अफ्ठयारो अवस्था छ । सरकारले बजेटमा राखेको पुँजीगत खर्चको लक्ष्य बढ्न सकेको छैन । चालु आर्थिक वर्षको ८ महिना आधा सयम बिति सक्दा पनि सरकारले पुँजीगत खर्चको लागि राखेको लक्ष्यको जम्मा २३ प्रतिशतमा खर्च गर्न सकेको छ । यता चालु आर्थिक वर्षमा सरकारले ल्याएको बजेट पनि घटाएको छ । चालु आर्थिक वर्षको लागि सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अर्धवार्षिक समिक्षा मार्फत सरकारले बजेट घटाएको छ । यसकारण हामीले अर्थतन्त्रमा जुनखालको गतिबिधि हुन्छ भनेर सोचिरेहका थियौं । त्यो पुरा हुन अलि अफ्ठयारो अवस्था छ । यसैगरी, पछिल्लो समय ब्यालेन्स अफ पेमेन्ट (भुक्तानी सन्तुलन) पनि फाइदामा छ । आर्थिक वर्ष २०७८–९७ का अधिकांस महिनामा घाटामा रहेको भुक्तानी सन्तुन हाल आउँदा २ खर्ब ७४ अर्ब रुपैयाँ बचतमा रहरको छ । पछिल्लो समय मौद्रिक क्षेत्रमा राम्रो सुधार भएको छ । रेमिट्यान्स बढ्दै गएको छ । पछिल्लो केहि महिनामा रेमिट्यान्स हरेक महिना जस्तो उच्च अंकले भित्रिरहेको छ । यसले आर्थिक क्षेत्रलगायत बैंकिङ क्षेत्रमा तरलता पर्याप्त बनाउन महत्वपूर्ण भुमिका खेलेको छ । आजको दिनमा मौद्रिक क्षेत्र सन्तुतिल भएर अगाडि बढिरहेको छ ।

अहिले बजारमा माग कम भएको भन्ने कुरा आएको छ । विदेशिने नेपलीको संख्या पनि बढ्दो क्रममा रहेको छ । अहिले आमीले १३.६९ अर्बको विदेशी मुद्रा सञ्चिति लिएर बसेका छौं । जसले साढे १४ महिनाको बस्तु तथा सेवा आयात गर्न सकिने अवस्था रहेको छ । देशमा रहेको पैसा कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बेला आएको छ । यसमा बैैंकिङ क्षेत्र अगाडि जानको लागि तयार छ । तर, यसमा केहि चुनौतीहरु पनि रहेका छन् । यसैगरी, पछिल्लो समय विदेशबाट आउने पर्यटनको संख्यामा पनि उल्लेखनीयरुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा ७९ हजार १ सय जना विदेशी पर्यटकहरु नेपाल भित्रिएका छन् । यसैगरी, पर्यटक आउने क्रमपनि बढेको छ । जसको कारण अर्थतन्त्र अझ सजह अवस्थामा जाला भन्ने मेरो अनुमान छ ।

पछिल्लो समय डिजिटल कारोबार बढेको छ । जसको कारण बैंकहरुको ब्रान्चलेस कारोबार पनि घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले ८६ हजारभन्दा धेरै जनालाई रोजगारी पनि दिइरहेको अवस्था छ । नेपालमा प्रखुम रोजगारको बिन्दु बैंक तथा वित्तीय संस्था रहेका छन । यसैगरी, गत आर्थिक वर्षको सरकारको सम्पूर्ण करमा पनि बैंकिङ क्षेत्रको ठुलो योगदान रहेको छ । यस वर्ष कर्जा लगानी गत आर्थिक वर्षको तुलनामा केहि बढेको भएतापनि सोचेअनुरुप बढ्न सकेको छैन ।

अहिले बैंकहरु ४ खर्ब रुपैयाँ कर्जा लगानी गर्न योग्य रकम लिएर बसिरहेका छन । तर, कर्जाको माग सुस्त छ । जसको कारण हामी लगानीका लागि अवसर खोजिरहेका छौं । बैंकिङ क्षेत्रमा अहिले पनि चुनौतीहरु छन । बैंकको मुख्य समस्याको रुपमा अस्थिर तरलतालाई लिन सकिन्छ । यसैगरी, पुँजी पर्याप्तता, क्रेडिट गुणस्तर र एनपिएल, मानव पुँजी, अनौपचारिक अर्थतन्त्र, रेमिट्यान्स निर्भरता, सानो र खण्डित बजार, वित्तीय/डिजिटल साक्षरता, देशको क्रेडिट रेटिङ नहुनु र अन्तर्राष्ट्रिय बन्ड बजारहरूमा पहुँच, वित्तीय अनुशासन, बढ्दो परिचालन लागत, जोखिम व्यवस्थापन र सुशासन, डिजिटल रूपान्तरण र साइबर सुरक्षा र अविकसित ऋण बजार अहिलेको हाम्रा चुनौती हो । (संघका अध्यक्ष तथा एनएमबि बैंकका कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले बैंकर संघको कार्यक्रममा राखेको बिचार)

प्रतिक्रिया दिनुहोस्
MBL