Logo

बैंकहरुको आधारदर पाँच वर्षअघिकै अवस्थामा फर्कियो, कर्जाको ब्याज वार्षिक साढे एक प्रतिशतले सस्तियो

बैंकहरुको आधारदर पाँच वर्षअघिकै अवस्थामा फर्कियो, कर्जाको ब्याज वार्षिक साढे एक प्रतिशतले सस्तियो



काठमाडौं । बैंकहरुको आधारदर पाँच वर्ष अगाडिको अवस्थामा फर्किएको छ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकको कर्जाको ब्याजदर साढे एक प्रतिशतले सस्तो भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउँदा १७ वाणिज्य बैंकको आधारदर एकल अंकमा झरेको छ ।

laxmi

औसतमा वाणिज्य बैंकको आधारदर यस अवधिसम्म ९.४३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकको औसत आधारदर १०.७८ प्रतिशतको हाराहारीमा रहेको थियो । एक वर्षको अवधिमा २० वाणिज्य बैंकको आधारदर १.३५ प्रतिशतले घटेको हो । बैंंक तथा वित्तीय संस्थाको आधारदर औसत ब्याजदर कोरोना अगाडिको अवस्थामा फर्किसकेको छ ।

पाँच वर्ष अगाडि २०७५ सालको अवस्था झरिसकेको हो । आर्थिक वर्ष २०७५–७६ को फागुनमा बैंकहरुको आधारदर ९.६६ प्रतिशत रहेको थियो । कोरोना महामारीको कारण त्यस बेला पनि कर्जा लगानी हुन सकेको थिएन । जसको कारण बैंकिङ प्रणालीमा उच्च तरलता थियो । कोरोना महामारीको कारण अर्थतन्त्रको सबै क्षेत्र सुस्त हुँदा २०७८ असोजसम्ममा बैंकिङ क्षेत्रको आधारदर औसत ६.८३ प्रतिशतमा झरेको थियो ।

कोरोना महामारीको कारण त्यसबेला अर्थतन्त्रको सबै क्षेत्र सुस्त भएको कारण सरकार तथा राष्ट्र बैंकले उधोग धन्दा सञ्चालन गर्नको लागि ब्याजलगायत विभिन्न कुरामा सहुलियत दिएको थियो । जसको कारण त्यसबेला बैंकहरुको कर्जाको ब्याजदर पनि एकल अंकमा झरेको हो । कोरोना महामारीको समय सरकारले दिएको सहुलियतको कारण बजारमा अत्यधिक कर्जा लगानी भएको थियो । जसका कारण बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता पनि कम हुँदै गयो । त्यसपछि विस्तारै कर्जाको ब्याजदर पनि बढ्दै २०७९ माघमा आइपुग्दा बैंहरुको आधारदर दोहोरो अंक १०.८५ प्रतिशतसम्म पुगेको थियो ।

बैंकको कर्जाको आधारदर दोहोरो अंकमा पुगेको कारण उधोगी व्यवसायीले लगानी गर्ने वातावरण नै नभएको भन्दै व्यवसायीले सरकारलाई पटक–पटक ब्याजदर घटाउनको लागि आग्रह गरे । यसैगरी, नेपाल राष्ट्र बैंकले कोरोनाको बेला सहज गरेको नीतिहरु तरलताको अभाव हुँदै गएपछि थप कसिलो बनाउँदै लग्यो । राष्ट्र बैंकले सीसीडी रेसियोको ८५ प्रतिशतको व्यवस्थालाई खारेज गरेर सीडी रेसियो ९० प्रतिशत कायम गर्ने व्यवस्था, सेयर धितो कर्जामा ४–१२ करोडको नीति, घरजग्गा कारोबारलगायतका क्षेत्रमा जाने कर्जामा कडाई गरेको थियो । जसको कारण बजारमा धेरै कर्जा लगानी हुन पाएको थिएन । तर, पछिल्लो समय सरकारले कर्जा लगानीका नीतिहरु विस्तारै सहज बनाउँदै लगिरहेको छ ।

राष्ट्र बैंकले घरजग्गा कारोबार, सेयर कारोबारलगायतका क्षेत्रमा जाने कर्जाहरुमा सहज नीति लिएको छ । यता राष्ट्र बैंकले कर्जा तथा निक्षेपको ब्याजदर घटाउनको लागि नीतिगत दर, बैंकदर, निक्षेपदर लगायतका दरहरु पनि घटाउँदै गएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत नीतिगत दर र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत पनि नीतिगत दर, बैंकदर तथा निक्षेप दर घटाएको हो । जसको कारण बैंकले निक्षेपको ब्याजदर पनि महिनै पिच्छे घटाइ रहेका छन । यसले बैंकको आधारदर पनि घटेको हो ।

कुन बैंकको आधारदर कति ?

पुस मसान्तसम्म सबैभन्दा सस्तो ब्याजदरमा कर्जा दिने बैंक स्ट्यान्र्डड च्यार्टर्ड बैंक रहेको छ । यस बैंकको पुस मसान्तसम्मको आधारदर ७.६५ प्रतिशत रहेको छ । यस बैंकको आधारदर गत आर्थिक वर्षको पुस मसान्तसम्म ९.९६ प्रतिशत रहेको थियो । १ वर्षको अवधिमा बैंकको आधारदर २.०४ प्रतिशत घटेको छ । यसैगरी, सस्तो ब्याजदर भएको अर्कोे वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकको ब्यादर एक वर्षमा १.८३ प्रतिशतले घटेर ७.९० प्रतिशत कायम भएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको ब्याजदर ९.७३ प्रतिशत रहेको थियो । पुस मसान्तसम्म दोहोरो अंकको आधारदर भएका ३ वटा बैंकहरु रहेका छन । यस अवधिसम्म कुमारी बैंकको आधारदर १०.२८ प्रतिशत, प्राइम कर्मसियल बैंकको आधारदर १०.३८ प्रतिशत, हिमालयन बैंकको आधारदर १०.६९ प्रतिशत रहेको छ ।

बैंकको आधारदर सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL