Logo

फाइभजी परीक्षणमा टेलिकम असफल, दुई बर्षसम्म पनि परीक्षण गर्न नसक्दा फ्रिक्वेन्सी फिर्ता

फाइभजी परीक्षणमा टेलिकम असफल, दुई बर्षसम्म पनि परीक्षण गर्न नसक्दा फ्रिक्वेन्सी फिर्ता



काठमाडौं । नेपाल टेलिकमले फाइभजी परीक्षणमा असफल बनेको छ । टेलिकमले अनुमति पाएको २ बर्षसम्म पनि फाइभजी परीक्षण गर्न नसकेपछि परीक्षणका लागि दिएको फ्रिक्वेन्सी नै फिर्ता भएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालसम्म पनि चित्तबुझ्दो तरिकाले फाइभजी परीक्षण र जडानमा टेलिकमले काम गर्न नसकेको भन्दै फ्रिक्वेन्सी नै फिर्ता लिएको हो ।

laxmi

प्राधिकरणले २०७८ कात्तिकमा नेपालभरका मुख्य ४ शहरमा फाइभजी परीक्षणको लागि टेलिकमलाई अनुमति दिएको थियो । त्यसबेला टेलिकमलाई ३ महिनाकै अवधिमा फाइभ–जी परीक्षणका लागि उपकरण भित्र्याएर जडान गरी परीक्षण गर्न निर्देशन दिइएको थियो । तर, यसको उपकरण आयातमा बाधा उत्पन्न हुँदा काममा ढिलाई भएको भन्दै अनुमति पाएको १४ महिनापछि अर्थात गत बर्षको पुसमा मात्रै टेलिकमले बागमती प्रदेशको काठमाडौंमा सुन्धारा र बबरमहलबाट फाइभजीको आन्तरिक परीक्षण सम्पन्न गरेको घोषणा गरेको थियो ।

तर, त्यसबेला परीक्षण घोषणा गरिएपनि त्यसको चित्तबुझ्दो नतिजा आएको कुरा प्राधिकरणसमक्ष हालसम्म पनि टेलिकमले पेश गर्न सकेको छैन । बरु अन्य प्रदेशका पनि एक–एक स्थानमा यसको परीक्षण गर्ने घोषणा गरेको थियो । टेलिकमले उपलब्ध गराएको जानकारीलाई आधार मान्दा हालसम्म टेलिकमले बागमती प्रदेशका दुई स्थानमा, गण्डकी प्रदेशको पोखरामा र मधेश प्रदेशको बिरगंजमा पनि फाइभजीका उपकरण जडान गरी आन्तरिक परीक्षण पुरा गरिसकेको छ । तर, यो परीक्षणको चित्तबुझ्दो नतिजा हालसम्म पनि उपलब्ध गराउन नसकेको र फ्रिक्वेन्सी दिएको समय पनि सकिएको भन्दै प्राधिकरणले फ्रिक्वेन्सी नै फिर्ता लिएको प्राधिकरणका एक अधिकारीले बिजखबरलाई बताए ।

यसअघि टेलिकमको फोरजी सेवा विस्तार गरिरहेका चिनियाँ कम्पनी जेडटीई र हुवावेले नै फाइभ–जी परीक्षणका उपकरण ल्याएर जडान गर्ने सहमति भएको थियो । तर, सबैतिर फोरजीको विस्तृत विस्तार भईसकेपछि मात्रै गर्नुपर्ने फाईभ जी परीक्षण फोरजीको विस्तार नसकिँदै सुरु गरिएको थियो । नेपाल टेलिकमले अझै पनि हिमाली जिल्लाका केहि क्षेहरुमा फोरजी सेवा पुर्याउन सकिरहेको छैन । त्यसमाथि फाईभजी परीक्षणका लागि भन्दै २०७८ मा प्राधिकरणले एक बर्षका लागि २६ सय मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी दिएको थियो ।

त्यसको म्याद गत बर्ष बैशाखसम्म मात्रै भएपनि टेलिकमले विभिन्न कारण देखाई यसको म्याद लम्ब्याएको थियो । अब भने म्याद बढाउन नसकिने भन्दै प्राधिकरणको बोर्ड बैठकले नै फ्रिक्वेन्सी फिर्ता ल्याउने निर्णय गरेको हो । खास प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल हुँदै बोर्डले टेलिकमलाई फाईभजी परीक्षणका लागि दिईएको ६० मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता ल्याउने निर्णय गरेको थियो ।

यता नेपाल टेलिकम भने यस बिषयमा हालसम्म आधिकारिक कुनै निर्णय र नआएको बताउँदै आएको छ । टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराई हालसम्म यो बिषयमा कुनै आधिकारिक निर्णय नआएको बताउँछन् । हालसम्म ४ स्थानमा फाईभजी परीक्षण गरिसकेको बताएको टेलिकमले गत बर्षको पुसमा सातै प्रदेशका मूख्य स्थानमा फाईभजी परीक्षण गर्ने भन्दै उपकरण आयात अनुमति माग गरेको थियो । यता संचार तथा सूचना प्रविधि मन्त्रालयले हालसम्म त्यसको अनुमति दिईसकेको छैन । नेपाल टेलिकमसँगै निजी क्षेत्रको एनसेलले पनि फाइभजी परीक्षणको अनुमति माग गरिरहेपनि सरकारलाई एनसेललाई हालसम्म अनुमति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL