Logo

भारतबाट प्रतियुनिट २० रुपैयाँमा बिजुली किनेर उपभोक्तालाई ९ रुपैयाँमा बेच्दै प्राधिकरण

भारतबाट प्रतियुनिट २० रुपैयाँमा बिजुली किनेर उपभोक्तालाई ९ रुपैयाँमा बेच्दै प्राधिकरण



काठमाडौं । जाडोयाम सुरुभएसँगै पुस पहिलो हप्ताबाट नेपालमा विजुली आयात गर्न सुरु गरेको नेपाल विद्युत प्राधिकरणले आयातित बिजुली उपभोक्तालाई आधाभन्दा बढी सस्तोमा विक्री गरिरहेको छ । हाल नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट प्रतियुनिट १२ भारतीय रुपैयाँ अर्थात करिव २० नेपाली रुपैयाँमा बिजुली खरिद गरिरहेको छ ।

सोही बिजुली नेपाली बजारमा जम्मा ८ देखि ९ रुपैयाँ प्रतियुनिटमा विक्री गर्नुपरिरहेको प्राधिकरणले जानकारी दिएको छ । यसो हुँदा बर्खायामभर नेपालले गरेको बिजुली निर्यातमा खुसी हुनुपर्ने अवस्था नरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । प्राधिकरणले चालु बर्षको बर्खायाममा झण्डै साढे ११ अर्ब बढीको बिजुली भारत निर्यात गरेको थियो । तर, जब सुक्खायाम सुरु हुँदै गयो नेपालबाट हुने निर्यात बन्द भयो र भारतीय बिजुली आयात सुरु भयो ।

नेपालले बर्खायाममा भारतलाई बेच्ने बिजुली न्युनतम मूल्यमा बेच्दा भारतबाट आयात हुने बिजुली भने अधिकतम मूल्यमा किन्नुपर्ने बाध्यता रहँदै आएको छ । अर्थात नेपालले भारतलाई धेरैजसो ८ देखि ९ रुपैयाँ प्रतियुनिटमै बिजुली बेच्ने गरेको थियो । तर, भारतबाट पुनः बिजुली आयात गर्दा भने प्रतिस्पर्धी मूल्य अर्थात अधिकतम मूल्यमा किन्नुपर्ने बाध्यता देखिन्छ । प्राधिकरणका अनुसार हाल नौतनवा–रक्सौललगायत अन्य केही प्रशारण लाइनमा देखिएको प्राविधिक गडबडीका कारण नेपालले आफुलाई आवश्यक बिजुली अधिकमत मूल्यमा पनि आयात गर्न नपाईरहेको अवस्था छ । सो प्रशारण लाइनको समस्या समाधान भएपछि हाल नेपालको विद्युत प्रणालीमा अभाव भएको बिजुलीको समस्या समाधान हुने प्रवक्ता भट्टराईले बिजखबरलाई बताए ।

हाल नेपालको विद्युत प्रणालीमा १३ सय मेगावाट आवर बढी बिजुलीको अभाव छ । सोही अभावलाई पूर्ति गर्न नेपालले भारतबाट बिजुली टेण्डरमार्फत खरिद गर्छ । टेण्डरमा कहिले बिजुलीको मूल्य न्युन हुन्छ भने कहिले उच्च भएर अधिकतम प्रतियुनिट २० रुपैयाँसम्म पुग्छ । यसो हुँदा प्राधिकरणलाई घाटा हुने उनी बताउँछन् । ‘नेपालको माग धान्नका लागि हामीलाई अधिकतम मूल्इमै पनि भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ, त्यो पनि कहिले पाईँदैन,’ उनले भने, ‘नेपालमा भने २० युनिटसम्मको बिजुली निशुल्क दिने र उपभोक्तालाई ८ देखि ९ रुपैयाँसम्म उक्त बिजुली बेच्नुपर्ने बाध्यता छ ।’

यसरी बढी मूल्यमा विजुली किनेर कम मूल्यमा बेच्दा बर्खायाममा नेपालबाट निर्यात भएको बिजुलीको मूल्यभन्दा आयात हुने बिजुलीको मूल्य बढी पर्न जाने उनी बताउँछन् । नेपालले बर्खायाममा करिव ४ सय ७५ मेगावाटसम्म बिजुली भारतलाई निर्यात गरेको थियो । आगामी बर्खायामका लागि विभिन्न आयोजनाले विजुली निर्यातका लागि स्वीकृति पाउने क्रम जारी रहेकाले नेपालबाट करिव ६ सय मेगावाट नै निर्या हुने अनुमान गरिएको छ ।

नेपालमा आयात हुने बिजुलीको मूल्य पिक आवरमा अधिकतम मूल्यमा पुग्दा अन्य समयमा केही घट्छ । भारतीय उर्जा एक्सचेन्ज लिमिटेडमा बिजुली किनबेच गर्दा विभिन्न कम्पनीको बिड (मूल्य बढाबढ) को आधारमा किनबेच हुन्छ । सोहीअनुसार प्राधिकरणले पनि बढाबढमा बिजुली किन्ने भएपछि कहिले बिजुलीको मूल्य कम पर्छ भने कहिले बढी पर्न आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL