Logo

बन्ला त केरुङ-काठमाडौं रेलमार्ग ? विस्तृत अध्ययनका लागि चिनियाँ विज्ञ टोली नेपालमा

बन्ला त केरुङ-काठमाडौं रेलमार्ग ? विस्तृत अध्ययनका लागि चिनियाँ विज्ञ टोली नेपालमा



काठमाडौं । चीनको ‘रेलवे फस्र्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुप को–अपरेट लिमिटेड’ ले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । केरुङ–काठमाडौं रेलमार्गका लागि सो कम्पनीले ६ जना इन्जिनियहरूलाई मंगलबार नेपाल पठाएको हो । सन् २०१८ मै केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्यययन सम्पन्न भएको थियो ।

नेपालस्थित चिनियाँ दूतावासले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई सोमबार पत्र लेख्दै केरुङ–काठमाडौंको रेलमार्ग अध्ययनका लागि आएको चिनियाँ टोलीलाई सहयोग गर्न आग्रह गरेको छ । पत्रमा ‘रेलवे फर्स्ट सर्भे एण्ड डीजाइन इन्स्टिच्युट ग्रुप को–अपरेट लिमिटेड’ ले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । सो सम्भाव्यता अध्ययन चीन सरकारको अनुदानमा हुने मन्त्रालय स्रोतले बताएको छ ।

गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा दुई देशका अधिकारीहरूबीच सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यसअघि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

तर, त्यसको तीन वर्षपछि चीनले प्राविधिक सहयोग गर्नेबारे हस्ताक्षर गरेको हो । सम्झौता पत्रअनुसार चीनले सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि नेपाललाई प्राविधिक सहयोग गर्ने उल्लेख छ । केरुङ–काठमाडौंको ७२ किलोमिटर दूरी रहेको रेलमार्गको सम्भाव्यता अध्ययन गर्न कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL