Logo

मोबाइलमा भ्यालु एडिड सर्भिस आफै नवीकरण : नचाहेपनि ग्राहकको ब्यालेन्स काटिदैं, प्राधिकरणले दियो कारवाहीको चेतावनी

मोबाइलमा भ्यालु एडिड सर्भिस आफै नवीकरण : नचाहेपनि ग्राहकको ब्यालेन्स काटिदैं, प्राधिकरणले दियो कारवाहीको चेतावनी



काठमाडौं । नेपालमा दुरसञ्चार सेवा दिइरहेका प्रमुख कम्पनीहरुका सेवाग्राहीले नचाहेको सेवा आफै नवीकरण हुने र पैसा काटिने गरेको भन्दै उजुरी गरेपछि नेपाल दूरसंचार प्राधिकरणले दुरसञ्चार सेवा प्रदायकलाई कारवाहीको चेतावनी दिएको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकम कम्पनीहरुले आफ्नो पहिलाको निर्देशन नमानेको भन्दै पुनः सचेत गराउँदै सूचना जारी नै गरेर कारवाहीको चेतावनी दिएको हो ।

पछिल्लो समय नेपाल टेलिकम, एनसेल अजियाटा र स्मार्ट टेलिकमका ग्राहकहरुले खरीद गरेका भ्यालु एडेड सर्भिस (भ्यास सेवा) आफै नवीकरण हुने गरेको गुनासो गर्दै आएका छन् । कम्पनीहरुले उपलब्ध गराउने यस्ता सेवाहरु ग्राहकले नवीकरण गर्न नचाहेपनि आफै नवीकरण हुने र ग्राहकको मेन व्यालेन्सबाट सोवापत रकम काटिने गरेको छ ।

ग्राहकलाई जानकारी नदिइकन आफै नवीकरण हुने यस्तो समस्याको मारमा हजारौं दुरसंचार उपभोक्ताहरु परिरहेका छन् । यसै बिषयलाई लिएर नेपाल दुरसंचार प्राधिकरणले २ बर्षअघिदेखि भ्यास सेवा स्वतः नवीकरण नहुने व्यवस्था मिलाउन टेलिकम कम्पनीहरुलाई निर्देशन दिर्दै आएको छ । तर, कम्पनीहरुले प्राधिकरणको सूचना र निर्देशनहरुलाई नै बेवास्ता गरेकाले पुनः प्राधिकरणले स्वतः नवीकरण हुने सेवा तत्काल बन्द गर्न निर्देशन दिँदै सूचना प्रकाशित गरेको हो ।

प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै कुनै टेलिकम कम्पनीले पनि स्वतः नवीकरण हुने भ्यास सेवा संचालन नगर्न निर्देशन दिएको छ । पछिल्लो समय भ्यास सेवा स्वतः नवीकरण हुने गरेको गुनासो आएकाले यस्तो सार्वजनिक सूचना प्रकाशित गर्नुपरेको प्राधिकरणको भनाई छ । यसअघि पनि यस्तो निर्देशन भइसकेकाले यसरी स्वतः नवीकरण हुने भ्यास सेवा संचालन हुनु गैरकानुनी हुने प्राधिकरणको ठहर छ ।

प्राधिकरणले कुनै दूरसंचार सेवाप्रदायकले स्वतः नवीकरण हुने भ्यास सेवा निर्देशन विपरित संचालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ । यस्तै प्राधिकरणले कुनै सेवाप्रदायकले यस्तो सेवा संचालन गरिरहेको पाएमा जुनसुकैबेला जसले पनि प्राधिकरणमा उजुरी दिनसमेत सकिने बताएको छ ।

प्राधिकरणले भ्यास सेवाको अवधि सकिन लागेको बेलामा ग्राहकलाई एसएमएसमार्फत निशुःल्क जानकारी दिनुपर्ने, सेवा नवीकरण गर्ने वा नगर्ने ग्राहकको स्वीकृति लिनुपर्ने र त्यसपश्चात मात्रै नवीकरण गर्नुपर्ने सर्त राखेको छ । यसरी ग्राहकले नवीकरण गराउने स्वीकृति नदिएपछि अर्थात मौन रहेपनि कम्पनीले उक्त सेवा नवीकरण गर्न नपाइने व्यवस्था पनि गरिएको छ । तर, कम्पनीहरुले ग्राहकलाई जानकारी नै नदिईकनै र ग्राहकको स्वीकृति नलिइकनै सिआरबीटी सेवा, विभिन्न प्याकेजहरु आफै नवीकरण गरिदिने गरेका छन् । जसका कारण ग्राहकले प्रत्येक हप्ता र महिना आफ्नो मेन ब्यालेन्सबाट काटिएको रकम के का लागि काटिएको हो भन्ने पनि पत्तो पाउँदैनन् ।

यसअघि निजी टेलिकम कम्पनी एनसेलले आफ्ना विभिन्न भ्यास सेवा अन्तर्गतका प्याकेजहरु अटो रिन्यु गरी ग्राहकबाट पैसा लिएको भन्दै प्राधिकरणले १ अर्ब ११ करोड २९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय पनि गरेको थियो । गत बर्षको साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले एनसेलले ग्राहकको खातामै फिर्ता हुनेगरी क्षतिपूर्ति भराउने गरी निर्णय गरेको थियो । तर, उक्त निर्णय विरुद्ध एनसेल संचार तथा सूचना प्रविधि मन्त्रालयको पुनरावेदन समितिमा पुग्यो ।

यस्तै नेपाल टेलिकमको पनि आफुले प्रदान गरिरहेको भ्यास सेवा अन्तर्गतको कलर रिङ ब्याक टोन सेवा आफै स्वीकृत र नवीकरण हुने समस्या थियो । हाल टेलिकमले उक्त समस्याको समाधानस्वरुप नवीकरण गर्ने बेलामा ग्राहकलाई जानकारी भने दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL