Logo

बजेटको सफल कार्यान्वयनको प्रतिवद्धतासँगै अर्थमन्त्री शर्माले सम्हाले कार्यभार, गठबन्धनका नेतालाई दिए धन्यवाद

बजेटको सफल कार्यान्वयनको प्रतिवद्धतासँगै अर्थमन्त्री शर्माले सम्हाले कार्यभार, गठबन्धनका नेतालाई दिए धन्यवाद



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन् । आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेसँगै अर्थमन्त्रीमा पुनर्वहाली गरेका उनले आईतबार साँझ पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले चालु आर्थिक बर्षको बजेट उत्पादन, निर्यात र वैदेशिक मुद्रा संचिति वृद्धिमा जोड दिने खालको भएकाले यसको सफल कार्यान्वयनमा जोड दिने बताएका छन् । उनले गत आर्थिक बर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याहरु केलाउँदै ति समस्याहरु पुनः दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले पुनः पदबहाली गर्न सहयोग गर्ने प्रधानमन्त्री देउवा, पार्टी अध्यक्ष प्रचण्डलगायत अन्य गठबन्धनका नेताहरुलाई धन्यवादसमेत दिएका छन् ।

यस्तै उनले कार्यक्रममा यसअघि कर्मचारीले दिएको साथ र सहयोग अझ पनि आवश्यकता भएकाले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेका उनको छानविन गर्नका लागि संसदीय छानबिन समिति गठन भएको थियो । सोही समितिलाई छानविनमा सहजीकरण गरिदिने भन्दै उनले असार २२ मा मन्त्री पदबाट राजीनामा दिएका थिए ।

समितिले उनले मन्त्रालयमा असम्बन्धित मान्छे घुसाएको पुष्टि नभएको प्रतिवेदन दिएपछि उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL