Logo

वैदेशिक व्यापारको अर्धबार्षिक समीक्षा : निर्यात ९५ प्रतिशतले बढेपनि व्यापारघाटा ९ खर्ब नजिक, निर्यात प्रशोधित तेलकै भरमा

वैदेशिक व्यापारको अर्धबार्षिक समीक्षा : निर्यात ९५ प्रतिशतले बढेपनि व्यापारघाटा ९ खर्ब नजिक, निर्यात प्रशोधित तेलकै भरमा



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । जसमा ८९ दशमलव ३७ प्रतिशत हिस्सा आयात व्यापारको छ भने १० दशमलव ६३ प्रतिशत हिस्सा मात्रै निर्यात व्यापारको छ । नेपालबाट हुने वस्तु निर्यात गत आर्थिक बर्षको अर्धबार्षिक व्यापारको तुलनामा ९५ दशमलव ४८ प्रतिशतले बढेर ६ महिनामा १ खर्ब १८ अर्ब रुपैयाँ बढी पुगेको छ । यसरी नेपालले ६ महिनामा उक्त परिमाणमा वस्तु निर्यात गरेपनि बढ्दा आयातका कारण व्यापारघाटा भने आकाशिंदो छ ।

भन्सार विभागका अनुसार नेपालले पछिल्लो ६ महिनामा अर्थात साउनदेखि पुस मसान्तसम्म मात्रै ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसरी वस्तु आयात चुलिँदा ६ महिनामा व्यापारघाटा मात्रै ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४६ दशमलव ६४ प्रतिशतले बढी हो । गत बर्ष यस्तो घाटा ६ खर्बको थियो ।

यी हुन धेरै आयात भएका वस्तुहरु

चालु आवको पछिल्लो ६ महिनामा नेपालले ९ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५१ प्रतिशतले बढी हो । यसरी नेपालको आयात उच्च बढ्नुमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थको छ । पछिल्लो ६ महिनामा नेपालमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ५३ अर्ब रुपैयाँ बढीको आयात भएको छ । यसमार्फत नेपाललाई करिव करिव शतप्रतिशत नै व्यापारघाटा व्यहोर्नुपरेको तथ्यांकले देखाउँछ । किनकी पछिल्लो ६ महिनामा नेपालबाट भने पेट्रोलियम पदार्थ जम्मा २९ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । पेट्रोलियम पदार्थत आयात गरेवापत नेपालले पछिल्लो ६ महिनामा ५९ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठाएको छ ।

यस्तै धेरै आयात हुने वस्तुको दोस्रो नम्बरमा भने फलाम र स्टिल छ । पछिल्लो ६ महिनामा नेपालले ८४ अर्ब ९३ करोड रुपैयाँ बढीको फलाम र स्टिल आयात गरेको छ । यस्तै धेरै आयात भएका वस्तुहरुको तेस्रो, चौथो, पाँचौं, छैठौं र सातौं स्थानमा भने कच्चा खानेतेल तथा बोसो, मेशिनरी, विद्युतीय उपकरण, सवारीसाधन र पार्टपुर्जा र अन्न रहेका छन् ।

पछिल्लो ६ महिनामा नेपालमा विभिन्न देशहरुबाट अन्न मात्रै ४२ अर्ब ७२ करोड ४५ लाख रुपैयाँ बराबरको आयात भएको छ । नेपालमै उत्पादन गर्न सकिने यस्ता वस्तुहरु विदेशबाट आयात गर्नुपर्दा नेपालको उत्पादनमा ह्रास आईरहेको संकेत अनुभव गर्न सकिन्छ । यस्तै पछिल्लो ६ महिनामा कच्चा खानेतेलजन्य पदार्थ ७८ अर्ब ९ करोड रुपैयाँ बराबरको आयात हुँदा सवारीसाधन तथा पार्टपुर्जा भने ६१ अर्ब ७७ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

निर्यातमा अझै खानेतेलको बिगबिगी

गत आर्थिक बर्ष नेपालको निर्यात पहिलोपल्ट १ खर्ब नाघ्यो । त्यसपछि चालु आर्थिक बर्षको पाँचौ महिनामै नेपालको कुल निर्यात १ खर्ब नाघिसकेको थियो । चालु आवको ६ महिनामा पनि नेपालको निर्यात १ खर्बै १८ अर्ब नाघेको छ । यसरी निर्यात एकाएक बढेर खर्ब नाघ्नुमा खानेतेलको हिस्सा ज्यादै धेरै छ । नेपालले पछिल्लो ६ महिनामा मात्रै ६८ अर्ब ६७ करोड २३ लाख रुपैयाँ बढीको खानेतेल निर्यात गरेको छ । यो नेपालको कुल निर्यातको ५७ प्रतिशत हो ।

यसरी लगातार नै खानेतेलको निर्यात बढ्दा एकातिर नेपालको व्यापारघाटा घटाउनुमा केही योगदान त पुगेको छ तर यसले व्यापार विविधिकरणमा भने समस्या ल्याएको आर्थिक क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । एकै प्रकारको वस्तु कुनै निश्चित देशमा मात्रै निर्यात हुनुले नेपालको निर्यात व्यापारमा खतराको संकेत देखिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्यांक विश्लेषक कृष्णराज बजगाईँ बताउँछन् ।

नेपालले खानेतेलबाहेक पछिल्लो ६ महिनामा मान्छेले बनाएको फाईबर, कार्पेट तथा गलैंचा, कफी चिया, र विभिन्न खानेकुराहरु धेरै निर्यात गरेको छ । पछिल्लो ६ महिनामा नेपलले फाईबर मात्रै ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात गर्दा ४ अर्ब ६८ करोड रुपैयाँ बढीको गलैंचा निर्यात गरेको छ । यस्तै नेपालले पछिल्लो ६ महिनामा ४ अर्ब ५७ करोड रुपैयाँ बढीको चिया कफी निर्यात गरेको छ ।

आयातमा कडाईको परिणाम

नेपाल राष्ट्र बैंकले पछिल्लो समय बढ्दै गएको आयात र यसले ल्याएको वैदेशिक मुद्रा संचितिमा गिरावटलाई नियन्त्रण गर्न आयातमा नियन्त्रणको नीति लिएको छ । बैंकले १९ प्रकारका हार्माेनी कोडमार्फत आयात हुने अधिकांस वस्तुहरुको आयात गर्दा शतप्रतिशत र सवारीसाधनको आयात गर्दा ५० प्रतिशत नगद मार्जिन रोखर एलसी खोल्न बैंकहरुलाई निर्देशन दिएको थियो । जसका कारण पुस महिनामा मात्रै यस्ता वस्तुको आयातमा केहि हदसम्म नियन्त्रण भईसकेको भन्सार विभागको तथ्यांमा उल्लेख छ ।

हालसम्म आयात भएका वस्तुहरु २ देखि ३ महिना अघि नै खोलिएको एलसीमार्फत आउने भएकाले ठुलो गिरावट नआएपनि अवका केही दिनमा राष्ट्र बैंकको नीतिको असर देखापर्ने भन्सार विभागका एक अधिकारीले बताए । उनका अनुसार पुसमा पनि यस्ता वस्तुको आयातमा केहि संकुचन भने आएको छ । राष्ट्र बैंकले सौन्दर्य प्रशाधन सामग्री, चिनी, ह्विस्की, वाइन, सुर्तीजन्य वस्तु, पफ्र्युम र ट्वाइलेट पेपरलगायत वस्तुहरुमा कडाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL