Logo

अर्थको स्वीकृति नलिईकनै बहुबर्षीय आयोजना अघि बढाउन अर्थमन्त्रीको निर्देशन

अर्थको स्वीकृति नलिईकनै बहुबर्षीय आयोजना अघि बढाउन अर्थमन्त्रीको निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

fm1

बिजखबर संवाददाता

१५ मंसिर, काठमाडौं ।अर्थमन्त्री डा रामशरण महतले बहुवर्षीय आयोजनाहरुमा अर्थमन्त्रालयबाट स्वीकृति नलिई कनै बहुवर्षीय ठूला आयोजनाहरुलाई अघि बढाउन निर्देशन दिएका छन् । सोमबार सम्पूर्ण मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा बोलाएर ठूला आयोजनामा बजेटको अभाव नहुने भन्दै प्रभावकारीरुपमा  छिटो कार्यान्वयन गरी नतिजा निकाल्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा महतले बहुवर्षीय आयोजनाहरुलाई स्वीकृति लिइरहनु पर्दैन भन्दै काम छिटो अघि बढाउन निर्देशन दिएका छन् । साथै,  काम नहुने र काम पन्छाउने प्रबृत्तिलाई निरुत्साहित गर्न समेत आग्रह गरेका छन् । ‘मेहनत नगरी विकास निर्माणका कामले गति लिदैन,’ उनले भने, ‘साथै, अन्य ठूला आयोजनाहरुलाई पनि बजेटको अभाव हुँदैन छिटो काम अघि अगाडि बढाउनुहोस ।’ त्यसैगरी बहुवर्षीय आयोजनामा के कति रकम खर्च हुन्छ अर्थ मन्त्रालयलाई त्यसको जानकारी दिएमात्र हुने उनको भनाइ छ ।

विकास निर्माणका कामहरुमा राजनीतिकरण हुने गरेकोले काममा ढिलाई हुने गरेको, बजेटमा टुक्रे कार्यक्रमहरु धेरै हुने गरेको र सञ्चालनमा पनि समस्या आउने गरेको उनको भनाई थियो । साथै विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने उनको धारणा थियो । राष्ट्रिय योजना आयोगले पनि धेरै आयोजनाहरु राखेर बजेटमा कनिका छर्ने प्रबृत्तिलाई रोक्न सक्रिय हुनुपर्ने र कतिपय अवस्थामा दबाबलाई किनारा लगाउन उनले निर्देशन दिए ।

fm3

मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको निर्माण कार्य तत्काल थालिहाल्न उनले युवा तथा खेलकूल मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । त्यसैगरी बूढीगण्डकी जलविद्युत आयोजना, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल लगायत ठूला आयोजनाका प्रारम्भिक तयारीका कामहरु शुरु गरिहाल्न समेत निर्देशन दिएका छन् । ‘अरु प्रक्रियाका कामहरुमा ढिलाई होला तर जग्गा अधिग्रहणको कामलाई किन पर्खिएर बस्ने ।’ उनले भने ।

खर्च हुन सक्ने र नसक्ने आयोजनाहरुको मूल्यांकन तुरुन्त गरी खर्च हुन सक्ने आयोजनाहरुमा रकम सार्नुपर्ने भएमा अर्थमन्त्रालय तयार छ । यसमा छिटै जानकारी गराइहाल्न उनले सचिवहरुलाई आग्रह गरेका छन् कतिपय अवस्थामा खर्च गर्न सक्ने अनुमानित आँकडा निकालेर काम गर्न आगै्रह गर्दै कुनै पनि हालतमा रकमको अभाव नुहने आस्वासन दिए । सो अवसरमा उनले आर्थिक बर्षको अन्तिमतिर चापाचापमा काम गर्ने बानीमा सुधार गर्न निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले के कारणले खर्च हुन नसक्ने अवस्था हो, त्यसको जानकारी तुरुन्त भए सहजीकरण गर्न आयोग तयार रहेको बताए । त्यस्तै आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले बजेटमा कनिकाकरण भएर पनि ठोस काम हुन नसकेको उल्लेख गरे । सो अवसरमा अर्थसचिव सुमनप्रसाद शर्माले गत बर्षभन्दा चालु आर्थिक बर्षको मंसिरसम्ममा रकमगत हिसावले बजेट खर्च बढेको स्पष्ट पारे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL