Logo

काठमाडौं महानगरपालिका : कर उठाउन पञ्चेबाजा, फोहोर उठाउन वेवास्ता

काठमाडौं महानगरपालिका : कर उठाउन पञ्चेबाजा, फोहोर उठाउन वेवास्ता



काठमाडौं । केही समययता काठमाडौं महानगरपालिकाको कर उठाउने कार्यमा तीव्रता दिएको छ । काठमाडौं महानगरपालिकालाई समयमै कर तिर्न आनकानी गरेका करदाताको सूची प्रकाशन गरेको महानगरले पछिल्लो समय करदाताकै घर तथा प्रतिष्ठानमै बाजागाजासहित पुगेर कर तिर्न ताकेता गरिरहेको छ । अझ निर्धारित समयमै कर नतिरे सेवा नै बन्द गर्ने महानगरको योजना छ ।

कर उठाउने काममा तल्लीन बनेको महानगर सडक चोकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिइसक्दा र काठमाडौंको अन्तरािष्ट्रय बेइज्जत भइसक्दा पनि नाक थुनेर बसेको छ । सर्वसाधारणदेखि व्यवसायीसम्मले कर उठाउन बाजा बजाउँदै हिंडेको काठमाडौं महानगर सडकमा फोहोर थुप्रिदा नाक थुनेर बसेको भन्दै महानगरको आलोचना गरिरहेका छन् ।

पछिल्लो २ हप्तादेखि काठमाडौंमा जहाँतहीँ देखिने फोहोरको थुप्रोले अहिले महानगरपालिकालाई नै गिज्याइरहेको छ । फोहोर नउठेको भन्दै सबै पक्षले गुनासो गरिरहेका छन् । तर, महानगर भने नाक कान थुनेर बसिरहेको छ । लगातार परेको झरी र थुप्रिएको फोहोरका कारण काठमाडौं डम्पिङ साईटजस्तो बनेको छ । करिव ३ हप्तादेखि काठमाडौं महानगरपालिकाले काठमाडौंबासीको घरको फोहोर नउठाईदिएपछि घरको फोहोर सडक, चोत्र र गल्लीमा जहीतहि थुप्रिएको पनि २ हपता बढी भइसकेको छ ।
तर, अझै काठमाडौं महानगरपालिकाले कहिले फोहोर उठाउने भन्ने निश्चित गर्न सकेको छैन । विभिन्न समस्याहरुका कारण काठमाडौंको फोहोर पछिल्लो २ हप्तादेखि राम्रोसँग उठाउन नपाएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्य बताउँछन् । उनका अनुसार काठमाडौंको फोहोर व्यवस्थापन गरिने एकमात्रै डम्पिङ साईट सिसडोल जाने बाटोमा समस्या आएपछि त्यहाँ जाने गाडी जान सकेका छैनन् । जसका कारण काठमाडौंको फोहोर उठाउन सकिएको छैन ।

यता, काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ भने सिसडोलको ल्याण्डफिल साईट भरिएपछि फोहोर उक्त स्थानसम्म पुग्ने बाटोसम्मै छरपष्ट भएको बताउँछन् । जसका कारण फोहोर फाल्नुपर्ने स्थान अर्थात फोहोरको चुचुरोमाथिसम्म जाने उकालो बाटोमा गाडीहरु जान नसकेपछि फोहोर लिएर गएका गाडीहरु उक्त स्थानमा पुग्न सकेका छैनन् । आजै महानगरपालिकामा फोहोरको व्यवस्थापनका लागि भन्दै छलफल सुरु गरिएको समेत उनले बताए ।

काठमाडौंको फोहोर प्रत्येक बर्षको बर्खामा यसरी नै सडकसडकमा थुप्रिने गर्दछ । कहिले बाटो विग्रने त कहिले ल्याण्डफिल साईटमा फोहोरकै राम्रो व्यवस्थापन नहुनाले यस्तो समस्या आउने गरेको करिव ६ बर्षभन्दा बढी भयो । काठमाडौं महानगरपालिकाको रुपरेखा नै बदल्ने घोषणा सहित चुनवा जितेर नयाँ मेयरका रुपमा विद्यासुन्दर शाक्य आएपछि फोहोर व्यवस्थापनको राम्रो सुरुवात हुने अपेक्षा गरेका महानगरवासीले पुरानै समस्या भोगिरेहका छन् ।

काठमाडौं महानगरिपालिकाले निश्चित समयका लागि अर्थात वैकल्पिक व्यवस्था नहुँदासम्मका लागि भन्दै सिसडोल ल्याण्डफिल साइटलाई संचालनमा ल्याएको थियो । विस २०६२ सालमा २ बर्षका लागि मात्रै भन्दै स्थानीयसँगको सहमतिमा संचालनमा ल्याईएको उक्त साईटमा पछिल्लो १३ बर्षदेखि फोहोर व्यवस्थापन हुँदै आएको छ । त्यसैका कारण त्यहाँका स्थानीयले पनि उक्त क्षेत्रमा पछिल्लो समय फोहोर व्यस्थापनमा अवरोध सिर्जना गरिरहेको वातावरण विभाग प्रमुख श्रेष्ठ बताउँछन् ।

नयाँ ल्याण्डफिलको काम सुस्त

सिसडोल ल्याण्डफिल साईट भरिएसँगै शहरी विकास मन्त्रालयले नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्नेगरी काम अघि बढाएको छ । काठमाडौं उपत्यकाबाट दैनिक करिव ५ सय मेट्रिक टनका हिसावले उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि भन्दै सिसडोलभन्दा २ किलोमिटर टाढा उक्त ल्याण्डफिल साईट निर्माणाधीन छ । तर, यो कहिले संचालनमा आउने टुंगो छैन ।

विस २०६२ सालमा २ बर्षका लागि मात्रै भनिएको सिसडोल ल्याण्डफिल साईटको निर्माण लगत्तै बञ्चरेडाँडा ल्याण्डफिल साईटका लागि भन्दै जग्गा अधिग्रहण गरिएको थियो । जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिल साइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुअल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।

जाइकाले सो ल्याण्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । सरकारले २०६२ सालमै ३ वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर ब्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । यस्तो लक्ष्य तय गरेको नै १२ बर्ष बढी वितिसक्दा पनि यसको काम सम्पन्न नभएपछि कहिले सम्पन्न हुने भन्नेमा आशंक अझै छ ।

मेयर शाक्य नै अन्यौलमा

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य नै काठमाडौंको फोहोर कहिले उठछ भन्ने अन्यौलमा छन् । यही अनयौलबीच उनले महानगरबासलिाई केही दिनको लागि फोहोर सडकमा जथाभावी नफाल्न अपिल गरेका छन् । काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन गर्न लागेकोले फोहोर जथाभावी नफाल्न उनले आग्रह गरे पनि कहिलेसम्म फोहोर उठछ भन्ने उनैलाई जानकारी छैन् । शाक्य काठमाडौंको फोहोर नउठनुमा बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर महानगरलाई हस्तान्तरण भएपछि स्थायी रुपमा फोहोर व्यवस्थापन गरिने बताउँदै सबै दोष सरकारको भएको संकेत गरिरहन्छन । छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउने प्रतिवद्धता भने उनले व्यक्त गर्न छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL