Logo

काठमाडौँकै सडक बिजोग अवस्थामा, ठेक्काको छ वर्षमा पनि कालोपत्रे भएन

काठमाडौँकै सडक बिजोग अवस्थामा, ठेक्काको छ वर्षमा पनि कालोपत्रे भएन



काठमाडौँ । कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेजअघिको मूल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका छन् । जोरपाटी–सुन्दरीजल सडकखण्डको यो भाग एक दशकदेखि जीर्ण छ ।

छ वर्षअघि ठेक्का लागेको जोरपाटी–सुन्दरीजल सडकको काम अहिले पनि सुस्त छ । अन्यत्र सडक बन्ने क्रम शुरु भएर केही भागमा कालोपत्र हुँदासमेत यस क्षेत्रका मात्र नभई छिमेकी नुवाकोट र सिन्धुपाल्चोकका मानिससमेत उपचार गर्न आउने मेडिकल कलेजअघिको सडक भने निर्माण हुन नसक्दा गम्भीर बिरामी बोकेका एम्बुलेन्स खाडलमा जाकिने गरेका छन् ।

सडक जीर्ण भएकै कारण उपचारका लागि आउँदा दुःख भोग्नुपरेको नुवाकोट शिवपुरी गाउँपालिकाका स्थानीयवासी सोमबहादुर तामाङले गुनासो गरे । अस्पतालअघिको भागमा ठूलाठूला खाडल छन् । वर्षा भएका बेला खाल्डामा पानी जमेर पोखरी बन्छ । हप्तौँ सडकमा गुड्ने सवारीले पोखरीको पानी छचल्कँदा पैदलयात्री र सडक किनारका सटर भाडामा लिई व्यवसाय गर्ने मानिस प्रभावित हुने गरेका छन् । साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुले दिनमै चारपटक कपडा फेर्नुपरेको दुखेसो पोखेका छन् ।

सडक किनारको सटर भाडामा लिई एक दशक अघिदेखि मासु पसल चलाउँदै आउनुभएका कृष्ण खड्गी विवाद भएर अस्पतालअघिको सडकको काम हुन नसकेको सुनाउछन् । विवाद समाधानका लागि नगरपालिकालगायतका सरोकार भएका निकायले पहल नगर्दा सडकको काम अस्पतालअघि नै अलपत्र भएको स्थानीय व्यवसायीको बुझाइ छ । त्यसअघि भगवतीस्थानअघिको सडक कालोपत्र भइसक्दा पनि अस्पतालअघिको सडक भने दिनानुदिन जीर्ण बन्दै गएको छ । 

जीर्ण सडकमा बर्सातमा बढ्दै गएको खाडलमा पानी जम्दा सवारी हिँड्दा पसलभित्र पानी छिरेर व्यापारमा प्रभाव परेको किनारको सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी दीपा श्रेष्ठको गुनासो छ । ठेक्काको छ वर्ष बितिसक्दा पनि जोरपाटी–सुन्दरीजल सडकको सात किमीको काम सकिएको छैन ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना निर्माण व्यवसायीले काम नगर्दा अस्पतालअघिको सडक अलपत्र बनेको बताउनुहुन्छ । सङ्घीय सरकारले लगाएको ठेक्का स्थानीय सरकारले के गर्न सक्छ र भनी निर्माण व्यवसायीले धेरै काममा समन्वय गर्दासमेत हेपेकाले बिरामी तथा स्थानीयवासीले सास्ती बेहोर्नुपरेको उहाँको भनाइ छ । 

अन्य स्थानमा ग्राभेल हालेर सडक सम्याइए पनि अस्पतालअघिकै भागमा भने काम अलपत्र छोडिएको छ । कामका विषयमा स्थानीय सरकारले सम्पर्क गर्दा निर्माण व्यवसायीले फोनसमेत नउठाउने गरेको प्रवक्ता ढुङ्गानाको गुनासो छ । निर्माण व्यवसायी नगरवासी नै भए पनि काम किन नभएको भनी सोध्न फोन गर्दा नउठाउने गरेको अत्तरखेलका स्थानीयवासीको गुनासो छ । यस सम्बन्धमा प्रतिक्रिया लिन सम्पर्क गर्दा पनि निर्माण व्यवसायी सन्तवीर श्रेष्ठले फोन उठाउनन् । 

करोडौँ योजनाको यो सडकमा कतै पनि सूचना पाटीसमेत राखिएको छैन । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्थासमेत उल्लङ्घन हुँदासमेत काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले निर्माण व्यवसायीलाई केही नभन्ने गरेको स्थानीवासी रमा श्रेष्ठ बताछिन् । आयोजनाका अधिकारीसमेत स्थानीय सरकार र पीडित जनाताका फोन उठाउँदैनन् । कार्यालयले नै सुविधामा दिएको फोन बोकेर हिँड्ने गरेका अधिकारीहरु त्यही नम्बर स्वीच अफ गरेर बस्ने गरेका छन् ।

निर्माण व्यवसायी स्थानीयवासी भएकाले आफ्नो टोलअघिको सडक क्षेत्रमा केन्द्रित भई पहिले जोरपाटी–सुन्दरीजल सडकको भैरवचौर–भूमिस्थली क्षेत्रमा मात्र कालोपत्र गरेर अन्यत्रको काममा ढिलाइ गरेको नगरवासी गुनासो गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL