काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन बाँडफाँड सम्पन्न गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीको आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ बाँडफाँड गरेको हो ।
बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ । यस आईपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका र ‘मेरो सेयर’ एपमार्फत् आवेदन दिन सक्नेछन् ।