Logo

फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । जर्मन अटोमोबाइल ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रा।लि।ले यी गाडीहरु काठमाडौंमा जारी ‘नाईमा अटो शो २०२५’ मा औपचारिक रूपमा सार्वजनिक गरेको हो।

यी दुवै गाडीहरूमा १.५ लिटर क्षमताको टर्बोचार्ज्ड फ्युल इफिसियेन्ट इञ्जिन जडान गरिएको छ, जसले १५० हर्सपावरसम्म उत्पादन गर्न सक्छ। पावर र सुरक्षा पक्षलाई उच्च प्राथमिकता दिई निर्मित यी गाडीहरू अत्याधुनिक प्रविधि र जर्मन इञ्जिनियरिङ्गको उत्कृष्ट नमुना भएको कम्पनीले जनाएको छ।

गाडी सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका लागि जर्मन राजदूत महामहिम श्री उदो भोल्ज सहभागी भएका थिए। त्यस्तै, फक्सवागन उत्पादक कम्पनीका प्रतिनिधि सेल्जि जोजेफ र पूजा इन्टरनेशनल नेपालका सिइओ विवेक विजुक्छेले पनि गाडीबारे जानकारी गराएका थिए।

फक्सवागन वट्रस, यद्यपि सेडान मोडल हो, यसको ग्राउन्ड क्लियरेन्स १८० मिमी रहेको छ, जुन नेपालमा प्रचलित धेरै एसयूभीहरूभन्दा पनि बढी हो। यसले गर्दा दुर्गम वा खाल्डाखुल्डी भएका बाटोहरूमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ। यसमा बलियो च्यासिस, पावरफुल इञ्जिन र उच्च सुरक्षा सुविधा उपलब्ध छ।

फक्सवागन टाईगुन एसयूभी १८८ मिमी ग्राउन्ड क्लियरेन्ससहित ल्याइएको छ, जुन नेपालको भौगोलिक बनावटमा उपयुक्त हुने दाबी गरिएको छ। यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट जस्ता सुरक्षा फिचर समावेश गरिएको छ। साथसाथै, सेभेन स्पीड गियरबक्सले यसलाई अझ प्रभावकारी बनाएको छ।

फक्सवागन गाडीहरू २००८ देखि नेपाली बजारमा ल्याइरहेको पूजा इन्टरनेशनलले विगतमा पोलो, जेटा, पसाट, टिगुआन लगायतका लोकप्रिय मोडलहरू सफलतापूर्वक बिक्री वितरण गरिसकेको छ। कम्पनीको विराटनगर, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी र पोखरालगायत प्रमुख शहरहरूमा सर्भिस तथा पार्ट्स सेन्टर सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्