काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा सर्वसाधारणबाट अपेक्षाभन्दा बढी आवेदन प्राप्त भएपछि इकाई बिक्री बन्द गरिएको छ।
प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड इकाई निर्धारण गरिएकोमा योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले १८ लाख इकाई (१.५ प्रतिशत) र कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंकले १ करोड ६२ लाख इकाई (१३.५ प्रतिशत) बीजपूँजीका रूपमा राखेका थिए। बाँकी दश करोड २० लाख इकाई सर्वसाधारणका लागि असार २२ गतेदेखि निष्काशन गरिएको थियो।
निवेशकर्ताको उल्लेख्य चासोका कारण नियत समयभित्रै मागभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यद्यपि मिति असार २७ गते (आज) बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था रहेकाले अन्तिम दिन थप २५ प्रतिशत इकाईका लागि समेत आवेदन प्राप्त भई योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँ पुग्ने र योजना हुने बैंकको विश्वास छ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले निष्काशनमा सहयोग गर्ने नियामक निकाय, सदस्य बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, शुभेच्छुक तथा सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गरेको छ।