काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पछिल्लो ११ महिनामा साढे ३८ अर्ब माथि सेयर धितो कर्जा (मार्जिन नेचर लोन) प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ११ महिनाको तथ्यांकलाई आधार मान्दा यस अवधिमा ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । यो गत आर्थिक बर्षको असार मसान्तको तुलनामा ४२.८ प्रतिशतले बढेको हो ।
यस अवधिमा सबैभन्दा बढी सेयर धितो कर्जा १ करोडमाथिको प्रवाह भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार पछिल्लो ११ महिनामा यो समुहको कर्जा मात्रै ३२ अर्ब ४९ करोड रुपैयाँ बढी प्रवाह भएको छ । चालु आवको जेठ मसान्तसम्म नेपालमा १ करोडमाथिको ८८ अर्ब ४२ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह भएको देखिन्छ ।
यस्तैयस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने २ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार यस अवधिमा २५ लाख देखि ५० लाखसम्मको २ अर्ब ४५ करोड र २५ लाखदेखि तलको ७६ करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ ।
यसरी चालु आवको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २८ अर्ब रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् ।