काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशन असार २२ गतेदेखि गर्ने भएको छ। प्रारम्भमा १ अर्ब २० करोड रुपैयाँको कोष आकारबाट सुरु गरिने यो योजना अत्यधिक माग भएमा ग्रीनसुओ अप्सन अन्तर्गत २५ प्रतिशत वृद्धि गर्दै १ अर्ब ५० करोड रुपैयाँसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ।
बन्दमुखी प्रकारको यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित ढंगले जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने लक्ष्य लिएको छ। यो योजना म्युचुअल फन्ड नियमावली, २०६७ अनुसार सञ्चालन गरिने छ जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा कोषको उचित व्यवस्थापन सुनिश्चित गर्नेछ।
ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा ल्याइने यो योजनाको इकाई मूल्य प्रति इकाई १० रुपैयाँ तोकिएको छ। कुल १२ करोड इकाई सर्वसाधारणमा निष्काशन गरिने छ भने न्यूनतम १०० इकाई र अधिकतम १.२० करोड इकाईसम्म लगानी गर्न सकिनेछ। योजना प्रारम्भ मितिदेखि १० वर्ष अवधिको हुनेछ।
यो योजनामा प्राप्त मुनाफाबाट लाभांश वितरण गरिने र बाँकी रकम पुनः लगानी गरिनेछ। योजना नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध हुनेछ भने व्यवस्थापन शुल्क नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत र डिपोजिटरी शुल्क ०.२० प्रतिशत हुनेछ।
लगानी मिश्रणको रूपमा यस योजनाले ७० देखि ९० प्रतिशत इक्विटी तथा सम्बन्धित साधनहरू, ०–१० प्रतिशत निश्चित आम्दानी साधनहरू (जस्तै ऋणपत्र), ०–१० प्रतिशत फिक्स्ड डिपोजिट र नगद तथा अन्य म्युचुअल फन्डमा लगानी गर्न सक्नेछ।
ग्लोबल आइएमई क्यापिटलका अनुसार योजनाले वार्षिक औसत २२.४९ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ। यस आधारमा १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ। योजना अन्तर्गत आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहनेछ भने पहिलो ९ वर्षसम्म ८ देखि २० प्रतिशत लाभांश वितरण गरिने लक्ष्य रहेको छ।
ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत हाल दुई योजना सञ्चालनमा छन्। समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ। त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को कोष आकार १.०२५ अर्ब रुपैयाँ रहेको छ।
यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो। ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त गरेको छ।
यस योजनामा लगानी गर्न इच्छुक व्यक्तिले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।
यस योजनाको निष्काशनका लागि गरिएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ए माइनस’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले ‘आईआरएन एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्रदान गरेको छ।