Logo

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका

चौधरी ग्रुपले भित्र्याएको नेटाको उत्पादक कम्पनी टाट पल्टियो : उत्पादन बन्द, नेपाली ग्राहकमाथि सीजीको धोका



काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनको माग तीव्र रूपमा बढिररहँदा त्यसले उच्च जोखिम निम्त्याएको छ । विशेषगरी चिनियाँ ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू नेपाली बजारमा आकर्षणको केन्द्र बनेका छन् । यस्तै एउटा ब्रान्ड हो नेटा, जसको नेटा भी, एक्सलगायतका मोडललाई चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सन् २०२२ देखि नेपालमा भित्र्याउँदै आएको छ । तर, हालै प्राप्त समाचारले भने नेपाली उपभोक्ताहरूलाई झस्काएको छ ।

नेटाको उत्पादक कम्पनी होजोन न्यु इनर्जी अटोमोबाइलले आर्थिक संकटका कारण औपचारिक रुपमा टाट पल्टिने प्रक्रियामा प्रवेश गरेसँगै समस्या निम्तिएको हो । यसले सीजी मोटर्सको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ । र हजारौं नेटा खरिदकर्ताहरू संकटमा पर्ने निश्चितप्रायः देखिएको छ ।

होजोन न्यु इनर्जी अटोमोबाइलले जुन १९ मा चीनको झेजियाङ प्रान्तस्थित जोउफाङ जिल्ला अदालतमा आर्थिक संकटका कारण औपचारिक रुपमा टाट पल्टिने प्रक्रियामा प्रवेश गरेकाे आवेदन दिएको चिनियाँ सरकारी मिडिया सीसीटीभीले जनाएको छ ।

कम्पनीले १० अर्ब युआनभन्दा बढीको ऋण बोकेको र उत्पादन कार्य पूर्ण रूपमा ठप्प भएको उल्लेख गरेको छ । सन् २०२४ मा नेटाले ६१ हजार ५ सय ९२ युनिट गाडी मात्र बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४०.२ प्रतिशतले कम हो । यस्तो अवस्थामा कम्पनीको आर्थिक संकटले नेपालमा नेटा भी को आपूर्ति, सर्भिसिङ, र स्पेयर पाट्र्सको उपलब्धतामा गम्भीर असर पार्ने निश्चित छ ।

नेपालमा सीजी मोटर्सले सन् २०२२ जुन ८ मा नेटा भी लन्च गरेको थियो । कुल ३८.९९ लाख नेपाली रूपैयाँ पर्ने सो गाडीले नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल भएको थियो । सीजीले विभिन्न प्रचारबाजी गरेर उक्त गाडि नेपाली उपभोक्तालाई बिक्री गरेपनि उत्पादक कम्पनी नै बन्द भएपछि उक्त गाडि खरिद गर्ने उपभोक्ताहरु थप मारमा पर्ने भएका छन् ।

नेपालमा पछिल्लो समय विभिन्न कम्पनीहरूले चिनियाँ ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू ल्याउने होडबाजी नै चलाएका छन् । तर, यस्ता कम्पनीहरूले उत्पादक कम्पनीको आर्थिक स्थिति, प्राविधिक क्षमता, र दीर्घकालीन विश्वसनीयताको गहन अध्ययन नगरी हचुवाको भरमा गाडीहरू भित्र्याउँदा नेपाली उपभोक्ताहरू ठगिने जोखिम बढेको छ । होजोनको यो घटनाले यस्तो लापरबाहीको गम्भीर परिणामलाई उजागर गरेको छ । सीजी मोटर्सले नेटा भी लाई आक्रामक रूपमा बजारमा प्रचार गरेको थियो । तर उत्पादक कम्पनीको यस्तो कमजोर अवस्थाबारे जानकारी नराख्नु वा बेवास्ता गर्नुले नेपाली ग्राहकहरूमाथि नै धोका भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

होजोनको संकटले नेपालमा बिक्री भएका हजारौं नेटा गाडीहरूको भविष्य अनिश्चित बनेको छ । यदि कम्पनी पूर्ण रूपमा टाट पल्टियो भने, सर्भिस सेन्टरको अभाव, स्पेयर पाट्र्सको कमी, र वारेन्टी सुविधाको समाप्तिले ग्राहकहरू ठूलो समस्यामा पर्ने निश्चित छ । साङघाईमा धेरै नेटा शोरूमहरू बन्द भएको खबरले नेपालमा पनि यस्तै अवस्था आउन सक्ने आशंका बढाएको छ । सीजी मोटर्सले स्थानीय रूपमा सर्भिसिङको व्यवस्था गरे पनि मूल कम्पनीको सहयोगबिना यो दीर्घकालसम्म सम्भव नहुन सक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्