Logo

विद्युतीय सवारीसाधनमाथि चिनियाँ सरकारको कडाई, कार खरिदका लागि दिईने अनुदान रोकियो

विद्युतीय सवारीसाधनमाथि चिनियाँ सरकारको कडाई, कार खरिदका लागि दिईने अनुदान रोकियो



काठमाडौं । चीनका कम्तीमा छ वटा शहर र नगरपालिका सरकारले असार महिनामा बिद्युतीय कार खरिदका लागि दिइँदै आएको ‘ट्रेड–इन’ अनुदान कार्यक्रम रोक्ने निर्णय गरेका छन्। रोयटर्सले सरकारी सूचनाको आधारमा गरेको समीक्षा अनुसार अनुदानका लागि छुट्याइएको पहिलो चरणको कोष सकिएकाले कार्यक्रम रोकिन पुगेको हो।

झेङ्झौ र लुओयाङ शहरका सरकारी सूचनामा बीजिङबाट प्राप्त पहिलो चरणको रकम सकिएको उल्लेख गरिएको छ। शेनयाङ र चोङछिङले भने अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अस्थायी रूपमा स्थगन गरिएको बताएका छन्। चीनको उत्तर–पश्चिमी क्षेत्र शिन्जियाङले पनि यसैगरी कार्यक्रम स्थगन गरेको घोषणा गरेको छ।

चीन सरकारले लामो समयदेखि जनताको खर्च प्रवाह बढाउन ठूला सामानहरू—जस्तै सवारीसाधन, घरायसी विद्युतीय सामग्री तथा अन्य इलेक्ट्रोनिक्स—मा अनुदान दिने नीति अपनाउँदै आएको छ। यो अनुदान कार्यक्रम उपभोक्ता खर्च घट्दो क्रममा रहेको, सम्पत्ति बजार सुस्त बन्दै गएको र रोजगारी तथा तलब वृद्धिप्रति चिन्ता बढेको अवस्थामा ल्याइएको हो।

चीनको वाणिज्य मन्त्रालयका अनुसार मे ३१ सम्ममा मात्र ४० लाखभन्दा बढी आवेदन कार सम्बन्धी अनुदानको लागि दर्ता भइसकेको छ। मे महिनाको खुद्रा बिक्री तथ्याङ्कले पनि सरकारको अनुदान कार्यक्रमको प्रभाव देखाएको छ। मे महिनाको खुद्रा बिक्री ६.४ प्रतिशतले वृद्धि भएको देखिएको छ, जुन अपेक्षाभन्दा माथि हो।

हालसम्म केन्द्र सरकारले थप अनुदान कहिले उपलब्ध गराउने भन्ने औपचारिक जानकारी दिएको छैन। तर राष्ट्रिय विकास तथा सुधार आयोग र वित्त मन्त्रालयले सन् २०२५ भर अनुदान कार्यक्रम जारी रहने बताएका छन्, जसका आधारमा विश्लेषकहरूले आगामी तेस्रो त्रैमासिकदेखि नयाँ कोष उपलब्ध हुने अनुमान गरेका छन्।

तर यस अनुदान कार्यक्रममाथि आलोचना पनि बढेको छ, विशेष गरी सवारी उद्योगमा। विश्वकै ठूलो मानिने चिनियाँ अटोमोबाइल बजारमा गहिरिँदो मूल्य युद्धले नाफामा नकारात्मक असर पार्दै आएको छ। नियामकहरू तथा सरकारी सञ्चार माध्यमहरूले अनियमितता भएको भन्दै चासो व्यक्त गरेका छन्।

हेनान प्रान्तको सरकारी पत्रिका ुदाहे डेलीु ले अज्ञात स्रोतलाई उद्धृत गर्दै केही व्यवसायहरूले नयाँ कारलाई प्रयोगशाला गरिएको भनेर ‘शून्य किलोमिटर प्रयोग भएका कार का रूपमा बिक्री गर्दै अनुदान लिइरहेको उल्लेख गरेको छ। यस्तो चलाखीले कोष अपेक्षाभन्दा चाँडै सकिएको र कार्यक्रम रोक्नु परेको रिपोर्टमा जनाइएको छ।

केही व्यापारीहरूले झण्डै नयाँ अवस्थामा रहेका कारलाई पुराना भनेर देखाई अनुदान लिने प्रयास गरेको खुलासा भएको छ। चिनियाँ सत्तारूढ दलको मुखपत्र ‘पिपल्स डेली’ ले पनि केही साताअघि यस्तो गतिविधिमा कडाइ गर्नुपर्ने बताएको थियो। ग्रेट वाल मोटरका अध्यक्ष वेई जियानचुनले सार्वजनिक रूपमा यस्तो प्रथाको विरोध गरेपछि यो विषय झनै चर्चामा आएको हो।

प्रतिक्रिया दिनुहोस्