Logo

हुवावेको एटो एम८ क्रसओभरको चर्चा, बजारमा नआउँदै १ लाख बढी अर्डर

हुवावेको एटो एम८ क्रसओभरको चर्चा, बजारमा नआउँदै १ लाख बढी अर्डर



काठमाडौं । हुवावे र सेरेसले संयुक्त रूपमा बनाएको क्रसओभर गाडी एटो एम८ ले चीनमा बजारमा आउनुअघि नै १ लाख अर्डर प्राप्त गरेको छ। यो गाडीको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (लगभग ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) को बीचमा छ। अब यो गाडी चाँडै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ।

एटो ब्रान्ड हुवावे र सेरेसको सहकार्य हो। यसमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले प्रविधि, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको व्यवस्थापन गरेको छ। एटो ब्रान्डका गाडीहरू हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य ब्रान्डहरूसँगै बिक्री भइरहेका छन्।

हाल एटो एम५, एम७ र एम९ गरी तीन क्रसओभर गाडी उपलब्ध छन्। सन् २०२४ मा यी मोडेलहरूको कुल बिक्री ३,८५,९०४ युनिट पुगेको चीनको विद्युतीय गाडी डाटा ट्र्याकरले जनाएको छ। अब चौथो मोडेल एटो एम८ ले बजारमा आउनुअघि नै ठूलो चर्चा कमाएको छ। मार्च ६ मा प्रि-सेल सुरु भएको यो गाडीका लागि ५,००० युआन (लगभग ७०० डलर) अग्रिम रकम बुझाउने ग्राहकलाई १०,००० युआन (लगभग १,४०० डलर) छुटको व्यवस्था थियो।

प्रि-सेल सुरु भएको एक घण्टामै ७,५०० अर्डर आएकाे छ। छ घण्टामा २१,००० र १२ घण्टामा २८,००० युनिट पुग्यो। दुई सातामा अर्डर ७०,००० पुग्यो र अप्रिल ७ मा हिमाले १ लाखभन्दा बढी अर्डर आएको घोषणा गर्‍यो। केवल ३२ दिनमा यो उपलब्धिले एटो एम८ लाई रेन्ज-विस्तारित विद्युतीय गाडी वर्गको लोकप्रिय मोडेल बनाउने निश्चितजस्तै छ।

प्रतिक्रिया दिनुहोस्