Logo

जेठमै भित्रिए ७ अर्ब ९० करोडका ३ हजार विद्युतीय गाडी

जेठमै भित्रिए ७ अर्ब ९० करोडका ३ हजार विद्युतीय गाडी



काठमाडौं । चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै नेपालमा ७ अर्ब ९० करोड रुपैयाँ बराबरका करिव ३ हजार विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको जेठ महिनामा मात्रै विभिन्न क्षमताका २ हजार ९ सय ६८ विद्युतीय चारपांग्रे सवारीसाधन नेपाल भित्रिएका हुन् । जसमध्ये सबैभन्दा बढी ५१ देखि १ सय किलोवाट क्षमताका विद्युतीय चारपांग्रे सवारीसाधनहरु नेपाल भित्रिएको देखिन्छ।

यस अवधिमा ५० देखि १ सय किलोवाट क्षमताका मात्रै ५ अर्ब ७९ करोड रुपैयाँ बराबरका १ हजार ९ सय ८९ थान विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । त्यसपछि ५० किलोवाटसम्म क्षमता भएका चारपांग्रे नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । जेठमा ५० किलोवाटसम्म क्षमता भएका ८ सय ७२ थान चारपांग्रे सवारीसाधन आयात भएका छन् । यसमार्फत नेपालले १ अर्ब ६४ करोड १२ लाख रुपैयाँ विदेश पठाएको छ ।

यसै अवधिमा १ सय १ देखि २ सय किलोवाट क्षमताका १ सय ४ थान विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । यस्तै यसै अवधिमा २ सय १ देखि ३ सय किलोवाट क्षमताका चारपांग्रे पनि जेठमा ३ ओटा नेपाल आईपुगेका छन् । विभागका अनुसार जेठमा २ सय १ देखि ३ सय किलोवाट क्षमताका १ करोड ९१ लाख रपैयाँ बराबरका ३ थान चारपांग्रे नेपाल भित्रिएका हुन् । यस्तै हालसम्म नेपालमा आयात नभएको ३ सय किलोवाट क्षमता माथिएको एउटा विद्युतीय चारपांग्रे पनि नेपाल भित्रिएको छ । जसको मूल्य मात्रै १ करोड २७ लाख रुपैयाँ छ ।

यसरी जेठमा मात्रै नेपाल आयात भएका सबै विद्युतीय चारपांग्रे सवारीसाधनबाट नेपालले ३ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

११ महिनामा २९ अर्बका साढे ११ हजार थान विद्युतीय गाडी आयात

चालु आर्थिक बर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म मात्रै नेपालमा २९ अर्ब रुपैयाँ बढीका करिव साढे ११ हजार विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा विभिन्न क्षमताका ११ हजार ४ सय ६६ थान विद्युतीय चारपांग्रे सवारीसाधनहरु नेपाल भित्रिएका हुन् । जसमा १९ अर्ब ६७ करोड रुपैयाँ बराबरका ६ हजार ८ सय ८५ थान ५१ देखि १ सय किलोवाट क्षमताका विद्युतीय गाडी छन् ।

यस्तै यसै अवधिमा ५० किलोवाटसम्म क्षमता भएका ४ हजार ३ सय ४४, १ सय १ देखि २ सय किलोवाट क्षमता भएका २ सय ९ ओटा, २ सय १ देखि ३ सय किलोवाट क्षमता भएका २७ ओटा र ३ सय किलोवाट माथि क्षमता भएको १ विद्युतीय चारपांग्रे नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्