Logo

अब हुन्डाईका गाडी नेपालमै बन्ने, परासीबाट बार्षिक ४ हजार गाडी उत्पादन हुने

अब हुन्डाईका गाडी नेपालमै बन्ने, परासीबाट बार्षिक ४ हजार गाडी उत्पादन हुने



काठमाडौं । लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमा चारपांग्रे सवारीसाधन हुन्डाईको एसेम्बल प्लान्ट संचालनमा ल्याएको छ । नवलपरासीमा रहेको एसेम्बल प्लान्ट कम्पनीले शुक्रबारदेखि संचालनमा ल्याएको हो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्लान्टको उद्घाटन गरेका हुन् ।

laxmi

प्लान्ट उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताएका छन् । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, ‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्’, प्रधानमन्त्री दाहालले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले भने ।

‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ’, प्रधानमन्त्री दाहालले भने, ‘ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।’ उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे ।

परासीको रामग्राम नगरपालिकामा आजदेखि संचालनमा आएको प्लान्टबाट बार्षिक हाल ४ हजार गाडी एसेम्बल गर्ने योजना कम्पनीको छ । कम्पनीले नेपालमा एसेम्बल गरेका हुन्डाई गाडीहरु अब मेड इन नेपालको ट्यागसहित सार्वजनिक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL