Logo

दिनभर उतारचढाव भएको बजार अन्तमा २३ अंकले बढ्यो, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

दिनभर उतारचढाव भएको बजार अन्तमा २३ अंकले बढ्यो, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । बुधबार दिनभर उत्तारचढाव भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक अन्तिम समयमा २३.८३ अंकले उकालो लागेको छ । आज दिनभरजसो घटबढ भईराखेको सेयरबजार अन्तिम समयमा दोहोरो अंकले बढेर २१११ को विन्दुमा पुगेर रोकिएको हो ।

आज २ सय २७ कम्पनीका ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम हिजोको तुलनामा कम ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ पुगेको हो । हिजो दिनभर कारोबार रकम ३ अर्ब ७० करोडको आसपासमा पुगेको थियो ।

आज व्यापारबाहेक सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी लघुवित्त समुहको परिसुचक देखिन्छ । आज लघुवित्त समुहको परिसुचक १०७ अंकले उकालो लाग्दा वित्त र जलविद्युत समुहको परिसुचक क्रमशः ७५ र ७२ अंकले बढेका छन् ।

यस्तै आज निर्जीवन बीमा समुहको परिसुचक ४३ अंकले उकालो लाग्दा जीवन बीमा समुहको परिसुचकमा ३४ अंकको वृद्धि देखिन्छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ०.९२ अंकको वृद्धि देखिन्छ ।

आज जानकी फाईनान्स, युनाईटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त र नेश्डो समृद्ध लघुवित्त वित्तीय संस्था गरी ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कुमारी धनवृद्धि योजनाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्