Logo

सेयर कारोबारमा आइतबारदेखि ‘एओएन’ सेवा बन्द, प्रि-ओपनिङलाई पनि व्यवस्थित गर्न निर्देशन

सेयर कारोबारमा आइतबारदेखि ‘एओएन’ सेवा बन्द, प्रि-ओपनिङलाई पनि व्यवस्थित गर्न निर्देशन



काठमाण्डौ । नेपाल  धितोपत्र बोर्डले अल अर नन (एओएन) सेवा हटाएको छ । शुक्रबार धितोपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र काट्दै सेयर कारोबारमा हुँदै आएको उक्त सेवा रोक लगाएको हो । 

सेयर कारोबारमा हुँदै आएको एओएन सेवा हटाउनका लागि शुक्रबार नेप्सेलाई पत्र काटिएको र आइतबारदेखि उक्त सेवा पूर्ण रुपमा बन्द हुने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए । ‘पछिल्लो समय एओएनमार्फत ठूलो कित्ता सेयर खरिद अर्डर राखेर साना लगानीकर्तालाई फसाउने काम भएको देखियो,’ उनले भने, ‘कृतिम अर्डर देखाएर साना लगानीकर्ता फसाउने काम नहोस् भन्ने उद्देश्यले उक्त सेवा नै बन्द गरिदिएका हौं ।’

पछिल्लो समय अनलाइन सेयर कारोबार प्रणालीको ट्रेड म्यानेजमेन्ट सिस्टम भित्रको कमजोरीको फाइदा उठाउँदै सीमित लगानीकर्ता समुहले अनावश्यक रुपमा अर्डर राख्दै चलखेल गर्न थालेको गुनासो आएपछि उक्त सेवा नै बन्द गर्नुपर्ने माग उठेको थियो । सोही अनुरूप नेप्सेले पनि एओएन सेवालाई बन्द गराउने विषयमा सम्बद्ध सरोकारवाला निकायसँग पटक पटक छलफल गरेको थियो । 

पछिल्लो समय बजारमा ठूलो कित्ता सेयर राखेर खरीद तथा बिक्रीमा राखेर कृत्रिम चाप सिर्जना गरी सेयरको मूल्यमा अनावश्यक चलखेल गर्दै आएका थिए । ‘अहिले कतिपय लगानीकर्ताले आफूले ठूलो कित्ता सेयर उच्च मूल्यमा खरिदका लागि अर्डरमा राख्ने अनि त्यो भन्दा कम मूल्यमा कारोबार गराएर आफ्नो मूल्यमा आएपछि अर्डर नै क्यान्सिल गरेर बाहिरिने गरेका थिए,’ बोर्डका अध्यक्ष ढुङ्गानाले भने, ‘त्यसरी मूल्य बढाउँदा साना साना कित्ता सेयर उठाउने लगानीकर्ता फस्ने सम्भावना उच्च देखियो तसर्थ लगानीकर्ताको हितका लागि उक्त सेवा नै बन्द गरिदिएका हौं ।’ साथै पछिल्लो समय एओएनलाई नै माध्यम बनाएर बजारलाई म्यानुपुलेस गर्ने काम भइरहेको समेत बोर्डको निष्कर्ष रहेको छ । 

यसैगरी बोर्डले जुवाको रुपमा कारोबार हुँदै आएको प्रिओपनिङलाई पनि व्यवस्थित गर्न नेप्सेलाई सेचत गराएको छ । प्रिओपनिङमार्फत एकैपटक कुनै पनि कम्पनीको सेयर मूल्य ५ प्रतिशत घटबढ गराएर कारोबार गराएर त्यसैका आधारमा एओएनबाट बजारमा अनावश्यक चलखेल गर्न थालेपछि बोर्डले त्यसलाई पनि थप व्यवस्थित गर्न नेप्सेलाई बोर्डले मौखिक रुपमा निर्देशन दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस्
MBL