काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार मध्यपूर्व र उत्तर अफ्रिकाका लागि सन् २०२५ को आर्थिक पूर्वानुमान घटाएको छ । त्यहाँ व्यापार तनाव र बढ्दो अनिश्चितताले वृद्धिमा असर गर्ने अपेक्षा गरिएको छ ।
‘सन् २०२५ र २०२६ मा अझै पनि वृद्धि बढ्ने अनुमान गरिएको छ, तर गत अक्टोबरमा अनुमान गरिएको भन्दा निकै सुस्त गतिमा’, आइएमएफले बिहीबार प्रकाशित गरेको आफ्नो क्षेत्रीय प्रतिवेदनमा भनेको छ ।
आइएमएफले सन् २०२५ का लागि चार प्रतिशतबाट दुई दशमलव छ प्रतिशत र सन् २०२६ का लागि चार दशमलव दुई प्रतिशतबाट तीन दशमलव चार प्रतिशतमा वृद्धिको अनुमान गरेको छ ।
यो संशोधनले ‘विश्वव्यापी व्यापार तनाव र उच्च विश्वव्यापी अनिश्चितता, तेल उत्पादनमा अधिक क्रमिक सुधार, यस क्षेत्रमा द्वन्द्वको लामो प्रभाव र केही देशमा संरचनात्मक सुधारहरूमा अपेक्षा भन्दा ढिलो प्रगति’ लाई प्रतिबिम्बित गर्दछ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको भन्सार शुल्कले यस क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छैन ।
‘यस क्षेत्रका देशहरू र संयुक्त राज्य अमेरिकाबीचको आर्थिक एकीकरण सीमित छ र ऊर्जा क्षेत्रलाई भन्सार शुल्कबाट छुट दिइएको छ’, मध्यपूर्व र मध्य एसियाका लागि आइएमएफका निर्देशक जिहाद अजौरले भने, ‘तर अनिश्चितताले विश्वभर लगानी सम्भावना, वित्तीय बजार र तेलको मूल्यमा भार थप्छ, जसले मन्दीलाई बढाउँछ ।’
‘चलिरहेका द्वन्द्वहरू र विस्तारित स्वैच्छिक तेल उत्पादन कटौती’ का कारण सन् २०२४ मा यस क्षेत्रमा औसत वृद्धि अघिल्लो वर्षको दुई दशमलव एक प्रतिशतबाट एक दशमलव आठ प्रतिशतमा झरेको थियो ।
यस क्षेत्रका तेल निर्यात गर्ने देशहरूका लागि सन् २०२५ को वृद्धिको पूर्वानुमान पहिलेको अनुमानको तुलनामा एक दशमलव सात प्रतिशत विन्दुले संशोधन गरिएको छ ।
यस क्षेत्रका तेल–धनी देशहरूबीच महत्त्वपूर्ण असमानता रहेको छ । यस वर्ष खाडी राज्यहरूका लागि तीन प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ भने इराकले एक दशमलव पाँच प्रतिशतको गिरावट देख्ने अपेक्षा गरिएको छ ।
युद्धग्रस्त सुडान, यमन र प्यालेस्टिनी क्षेत्रहरूमा आर्थिक सम्भावनाहरू निराशाजनक छन् ।
‘सन् २०२१ देखि अन्तर्राष्ट्रिय सहायता करिब २५ प्रतिशतले घटेको छ र यो प्रवृत्ति तीव्र हुने सम्भावना छ’, अजौरले भने ।
आइएमएफले लेबनानका लागि कुनै अनुमान प्रदान गरेको छैन । लेबनान अझै विनाशकारी इजरायल–हिजबुल्लाह युद्ध र २०२४ मा सात दशमलव पाँच प्रतिशत आर्थिक सङ्कुचनको प्रभावबाट ग्रस्त छ ।
एक दशकभन्दा बढी समयको गृहयुद्धबाट बाहिर आएको सिरियाका लागि कुनै अनुमान उपलब्ध थिएन ।
अजौरका अनुसार पुनर्निर्माणले ती देशहरूमा पुनरप्राप्तिलाई ट्रिगर गर्न सक्छ, तर यसका लागि महत्त्वपूर्ण कोष चाहिन्छ ।
‘द्वन्द्वग्रस्त देशहरूलाई पुनर्निर्माण गर्न मद्दत गर्न खाडी देशहरू इच्छुक छन्’, उनले भने, ‘तर यी देशहरूले आर्थिक र सामाजिक सन्तुलन पुनःस्थापना गर्न र विश्वास पुनः प्राप्त गर्न आवश्यक सुधारहरू कार्यान्वयन गर्नु महत्त्वपूर्ण छ ।’रासस