Logo

आन्तरिक उडानतर्फको भाडा बढ्यो

आन्तरिक उडानतर्फको भाडा बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडादर पनि बृद्धि भएको छ । इन्धनको मूल्य बढेसँगै आन्तरिक वायु सेवा कम्पनीहरूले हवाई भाडादर मंगलबारबाट लागू हुने गरी वृद्धि गरेका हुन् ।

निगमले सोमबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ३२ रुपैयाँ ७८ पैसा कायम गरेको हो । यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय १८ रुपैयाँ थियो । भारतीय नाकाबन्दीले स्थलमार्गबाट हवाई इन्धन ल्याउन नसकेपछि निगमले भारतको कोलकाताबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत् हवाई इन्धन ल्याइरहेको छ ।

जहाजमार्फत ल्याइएको हवाई इन्धनको लागत मूल्यअनुसार मूल्य बढाइएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिक्रीदर तय गर्ने निर्देशन दिएका आधारमा मूल्य वृद्धि गरिएको आयल निगमले जानकारी दिएको छ ।

त्यस्तै इन्धन अभावले उडान रद्द गरेका वायुसेवा कम्पनीहरुले मंगलवार ८० प्रतिशत उडान भर्ने भएका छन् । इन्धन अभाव हुँदा आइतवार ७० प्रतिशत र सोमवार ५२ प्रतिशत उडान रद्द गरिएको थियो ।

आइतवार र सोमबार केहीमात्रमा हवाई इन्धन भित्रिएकोले मंगलवार ८० प्रतिशत उडान भर्न लागिएको वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार सोमबार वायु सेवा निगम (एनएसी) ले ३ लट गरेर ६० हजार लिटर हवाई इन्धन ल्याएको हो । यसले गर्दा मंगलवार आन्तरिक उडान केही सहज हुने छ ’ उनले भने । साथै बिराटनगर र धनगढीमा पनि तेल मौज्दात रहेकोले ८० प्रतिशत उडान भर्न सकिने उनले जानकारी दिए ।

भारतीय नाकाबन्दीले इन्धनको अभाव भएपछि आयल निगमले सोमबारदेखि आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीलाई उडान र जाहज संख्याका आधारमा हवाई इन्धन (एटीएफ) भागबन्डा गरी गर्न सुरु गरेको छ ।
वायुसेवा सञ्चालक संघ र निगमबीच आइतबार भएको छलफलपछि उपलब्ध इन्धनलाई बाँडिचुँडी वितरण गर्ने निर्णय गरेको हो । निगमसँग मौज्दात एटीएफ ज्यादै कम भएपछि उक्त निर्णय गरिएको वायु सेवा सञ्चालक संघ नेपालका प्रवक्ता घनश्याम आचार्यले बताए ।

उनका अनुसार आठ विमान भएको बुद्ध एयरलाई १२ हजार, ७ विमान भएको यतीलाई १० हजार, एउटा जहाज मात्र भएको सौर्य र तीनवटा विमान भएको सिम्रिकलाई २५ सय लिटर मात्रै उपलब्ध गराइने छ।

त्यसैगरी काठमाडौंबाट दुर्गम र पहाडी रुटमा उड्ने विमानहरूलाई पनि सोही आधारमा हवाई इन्धन वितरण गरिने बताइएको छ । दुर्गम उडानका लागि ७ वटा जहाज भएको तारालाई ३ हजार, गोमा र सीता एयरलाई १२ सय र सिम्रिकलाई १ हजार लिटर इन्धन बिक्री गरिने छ । आइतबारको वार्ताले तोकेको कोटा केही हेरफेर हुनसक्ने बताइएको छ ।
नेपाल वायु सेवा निगम (नेवानि)को ठूला र साना गरी ८ वटा विमान छन् । काठमाडौंबाट हाल दैनिक आन्तरिक तर्फ १ सय ५० हाराहारी उडान हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL