यसकारण एनसेल छाड्न चाहन्छ टेलियासोनेरा


रामराजा श्रेष्ठ
18 September, 2015 12:58 am

रामराजा श्रेष्ठ

FoneLoan-250x250
yamaha

१ असोज, काठमाडौं । सन् २०१४ मा ४३ अर्ब आम्दानी गरेको निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले त्यतीबेला २४ अर्ब ८८ करोड ५६ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । सन् २०१५ को पहिलो ६ महिनामामात्रै कम्पनीले १९ अर्ब १५ करोड १२ लाख बराबरको सेवा बिक्रि गरेको थियो । यसबीचमा कम्पनीको खातामा ९ अर्ब ९० करोड १२ लाख रूपैयाँ सञ्चालन मुनाफा प¥यो । अब स्वभाविक अनुमान गर्न सकिन्छ, रफ्तार यहिं कायम रह्यो भने २०१५को अन्त्यसम्ममा कम्पनीको आम्दानी र नाफामा तुलनात्मक बढोत्तरी देखिनेनै छ ।

माउ कम्पनी टेलियासोनेराको बहिखातामा एनसेलले कतै घाटा पु¥याएको छैन । बरू टेलियासोनेराको बारम्बारको प्रतिवेदनले भन्छ – युरोसियामा नेपालको ‘पर्फमेन्स’ सबैभन्दा बलियो छ । नेपाल अर्थात एनसेलको । कम्पनीलार्ई निरन्तर उकालो लगाउन सघाइरहेको एनसेलबाट किन बाहिरिन खोज्दैछ त टेलियासोनेरा ?

टेलियासोनेरा नेपाल भित्रिएपछि एनसेलले निरन्तर गरिरहेको प्रयास भनेको ‘ब्राण्ड इमेज’ सुधार्ने नै हो । यसबीचमा एनसेल पनि आफूबारे हुन सक्ने गलत प्रचारका विषयमा निकै सतर्क देखियो । ब्राण्डमा विश्वास गर्ने माउ कम्पनी टेलियासोनेरालाई केहि पहिले एउटा नराम्रो दाग लागेको थियो । उज्वेकिस्तानमा टेलियासोनेरा मातहतमा रहेको टेलिकम कम्पनीमा त्यहाँकी राष्ट्रपतिकी छोरी गुल्नारा कारिमोभाको कम्पनीको स्थानीय ‘पार्टनर’का रूपमा लगानी थियो । टेलियासोनेराकै देश स्विडेनको एक टेलिभिजनले सन् २०१२ मा कारिमोभाको कम्पनीलाई ३२ अर्ब रूपैयाँ घुस दिएको खबर सार्वजनिक गर्यो  । घटना यति तन्कियो की यस विषयमा अमेरिकी न्याय विभाग र स्विडेनको एक कानुनी कार्यालयले निरन्तर अनुसन्धान सुरू गरे । खासमा त्यो अनुसन्धानले न घुस दिएको प्रष्ट पार्न सक्यो न त यसमा स्पष्ट खुलासा नै गर्न सक्यो ।

टेलियासोनेरालाई लागेको दाग यहिं नै हो । तर यो दागको दबाब टेलियासोनेराका तत्कालीन अध्यक्षलाई भारी बन्न पुग्यो । तर तथ्य के पत्ता लाग्यो भने टेलियासोनेराले स्थानीय पार्टनरसँग व्यावसायिक सहकार्य गर्न असमर्थ जस्तै बन्यो । स्विडेन सरकारको ३७ प्रतिशत सेयर हिस्सा रहेको टेलियासोनेराको माथिल्लो नेतृत्व यहिं दबाबकै कारण फेरिए । अनि स्विडेन सरकारले म्यारी एर्लिङ्लाई अध्यक्षको जिम्मेवारी सुम्पियो । नयाँ जिम्मेवारी पाएसँगै एर्लिङ सहितको व्यवस्थापन टोली लगानी भएका देशका स्थानीय पार्टनरलाई नै कम्पनी सुम्पिन चाहान्थ्यो । भने जस्तो सजिलो कहाँ थियो र ? तर आन्तरिक रणनीतिको रूपमा भने टेलियासोनेरा माथिको विषयमा बलियोसँग अडिग थियो । आज त्यो रणनीति युरोसिया देश अन्तर्गतका सबै टेलिकम कम्पनीबाट विस्तारै बाहिरिने घोषणामा परिवर्तन भएको छ ।

खासमा टेलियासोनेरालाई युरोसिया छोड्नु बाध्यकारी रणनीति मात्र बन्न पुगेको छ । विश्वभर टेलियासोनेराका ६ करोड ६ लाख ग्राहकमध्य ४ करोड ४ लाख त यहिं युरोसियाका मात्र छन् । ताजकिस्तान, जर्जिया र मोल्दोभाबाहेक युरोसियाका अन्य देशमा टेलियासोनेराको आम्दानी नियमित वृद्धिमा छ । भ्रष्ट्राचारकै मुद्धा खेप्नुपरेको उज्वेकिस्तान पनि टेलियासोनेराको आम्दानी बढाउने बलियो देशका रूपमा अझै पनि छ । तर टेलियासोनेरा भने अघिल्ला मुद्धाबाट पार लागेर आफ्नो ‘ब्राण्ड इमेज’ बचाउने धुनमा छ । समस्या त कहाँ हो भने, उज्वेकिस्तानबाट बाहिरिएर अन्य युरोसियन देशमा जानसक्ने गलत सन्देश । यसमा टेलियासोनेरा प्रष्ट बन्यो अनि भनिदियो ‘टेलियासोनेरालाई नयाँ रूप दिएर हामी युरोपियन देशमा व्यवसाय केन्द्रित गर्न चाहान्छौं’ भएको यत्ति हो ।

टेलियासोनराले बाहिरिने घोषणा गरेपनि नेपालको सेवा सञ्चालन र विस्तारलाई जिम्मेवारीपूर्वक निरन्तरता दिने जनाएको छ । उसले भनेको छ ‘कम्पनी पृथक अवस्थामा छ, नयाँ व्यवस्थापनले सफलतापूर्वक अगाडी डोहोर्याउन सक्छ’ ।

प्रतिक्रिया दिनुहोस्