डलरको विनिमयदर रेमिट्यान्स वाहेक सवै क्षेत्रमा घाटा


रामराजा श्रेष्ठ
4 June, 2015 1:35 pm

बिजखबर विश्लेषण

FoneLoan-250x250
Yamaha_250X250

काठमाडौं । स्वदेशी बैंकहरुले विहीवार एक अमेरिकी डलर बेच्दा १ सय ३ रुपैयाँसम्म लिएका छन् । नेपालका बढी विनिमय कारोबार गर्ने बैंकहरुले वेव पेजमा प्रकाशित गरेअनुसार नबील र एभरेष्ट बैंकले १ सय ३ रुपैयाँ प्रतिडलरको दरमा मुद्रा सटही सुविधा दिएका छन् । बैंक अफ काठमाण्डूले १ सय २ रुपैयाँ ९० पैसा र नेपाल इन्भेष्टमेण्ट बैंकले १ सय २ रुपैयाँ ९५ पैसामा डलर बेचेका छन् ।

नेपाल राष्ट्र बैंकले विहीवारका लागि अमेरिकी डलरको विनिमय दर १ सय २ रुपैयाँ ७७ पैसा तोकको छ । यो अघिल्लो दिनको तुलनामा १७ पैसा महँगो हो । ठीक एक महिनाअघि गत मे ४ मा केन्द्रिय बैंकले डलरको भाउ १ सय १ रुपैयाँ ७८ पैसा तोकेको थियो । गत मार्चको सुरुतिर ९९ रुपैयाँको हाराहारीमा रहेको अमेरिकी मुद्राको विनिमय दर तीन महिनापछि १ सय ३ रुपैयाँको स्तरमा पुगिसकेको छ ।

नेपाली रुपैयाँसँग विदेशी मुद्राको सटही दर दिनदिनै फेरबदल हुने भएपनि भारतीय मुद्राको ‘स्ट्रेन्थ’का आधारमा नेपाली रुपैयाँको भाउ कायम हुने गर्छ । नेपाली रुपैयाँलाई भाारतीय मुद्रा (भारतीय रुपये–भारु)सँग स्थिर विनिमय सम्झौता (पेग्ड) गरिएकाले यस्तो भएको हो । विश्व बजारमा अन्य मुद्राहरुको तुलनामा भारु सस्तिँदै गएकाले अहिले नेपाली रुपैयाँ पनि कमजोर भएको छ ।

पछिल्ला दिनमा भारतीय सेयर बजारबाट विदेशी फण्डहरुले ठूलो आकारमा लगानी फिर्ता लगिरहेका छन् । अमेरिकी डलर बलियो हुने देखेपछि भारतबाट पैसा फिर्ता लानेको होड चलेको छ । यसले भारतीय सेयर बजार सूचकांक पनि लगातार ओरालो लाग्ने क्रममा छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधार जारी रहनु र ग्रीसको ऋणसंकट फुकाउनेबारेको बहस निष्कर्षमा नपुग्दा केही महिनायता अमेरिकी डलरको भाउ चुलिएको हो । यता भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले राखेको उच्च आर्थिक बृद्धिको लक्ष्य पछ्याउन त्यहाँको केन्द्रिय बैंकले लगातार ब्याजदर कटौति गरिरहेको छ ।

रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)का गभर्नर रघुराम राजनले हालैमात्र यो वर्षको तेस्रो पटक ब्याजदर कटौति गरेका छन् । ब्याजदर कम भएपछि मुद्राको प्रवाह (आपूर्ति) बढ्ने अनुमानले भारतीय बजारमा डलरलाई बलियो बनाउँदै लगेको छ । गत बुधवार भारतीय बजारमा प्रतिडलर ६३ दशमलव ९६ भारुमा विनिमय कारोबार भएको छ । गभर्नर राजनले हालै पत्रकारहरुको एक टोलीसँग आफूले विनिमय दरको उतारचढावलाई नियन्त्रण गर्ने हेतुले मात्रै मुद्रा बजारमा हस्तक्षेप गर्ने बताएको खबर त्यहाँका सञ्चारमाध्यामहरुले छापेका छन् । यसको अर्थ लगातार र दीगो तवरले भारु सस्तिएमा आरबीआईले कुनै ‘एक्सन’ नलिन सक्छ । राजनको यो अभिव्यक्तीले अझै पनि अमेरिकी डलरको भाउ बढ्ने संभावना बाँकी नै देखिन्छ ।

के फरक पर्छ ?

नेपाली अर्थतन्त्र खासगरी आयातमा निर्भर छ । स्वदेशी मुद्रा सस्तिँदा निर्यातमूलक अर्थतन्त्रलाई फाइदा पुग्छ भने आयातमा आधारित अर्थतन्त्रलाई घाटा पर्छ । डलर महँगिदा तेस्रो मुलुकबाट आयात हुने सबै सामानको भाउ बढ्छन् । भारत वा चीनबाट हुने आयातमा पनि डलरमा भुक्तानी गरेर ल्याउनुपर्ने सामानको भाउ बढ्छ । सरकारी ऋणको दायित्व बढ्छ भने आयल निगम, नेपाल विद्युत् प्राधिकरणजस्ता सार्वजनिक संस्थानको वित्तीय दायित्व पनि थपिन्छ । डलर महँगिदा नेपालीले पाउने निर्यातबाहेकको एउटै फाइदा विप्रेषण हो । नेपालीले विदेशमा कमाएर पठाउने पैसामा सटही दरको फाइदाबाट अतिरिक्त आम्दानी गर्न सक्छन् ।

कसरी तोकिन्छ विनिमय दर

हरेक मुद्राको मूल्य निर्धारण अर्थशास्त्रको सामान्य मुल्य सिद्धान्त अनुसार नै हुन्छ । यसको मतलव माग र आपूर्तिको सम्बन्धले कुन मुद्राको मूल्यभार कति कायम गर्ने भन्ने निर्धारण गर्छ । अन्तरराष्ट्रिय बजारमा भारतीय मुद्राको माग बढी छ की अमेरिकी डलरको माग बढी छ भन्ने कुराले यसमध्ये कुनचाहीँ मुद्रा महँगो हुने भन्ने तय हुन्छ । डलर बाहेकका सबै मुद्रासँगको सम्बन्ध त्यही नै हो । जब डलर लगायत संसारका अरु मुद्राको तुलनामा भारुको माग कम हुँदै जान्छ र आपूर्ति बढ्दै जान्छ, त्यसपछि भारु सस्तिन्छ । फलस्वरुप नेपाली मुद्रा पनि अवमूल्यन हुन्छ र हामीले डलर वा अन्य मुद्रा साट्नुपर्दा धेरै रुपैयाँ तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्