काठमाडौं । १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि लगानी सम्झौता सम्पन्न भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच उक्त सम्झौता भएको हो । यो आयोजना मुस्ताङ र म्याग्दी जिल्लाको कालीगण्डकी नदीमा निर्माण गरिनेछ।
आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ। सहवित्तीयकरण अन्तर्गत बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत अर्थात् २९ अर्ब ६२ करोड ६० लाख लगानी गर्ने प्रतिवद्धता जनाएका छन्, भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक समूह तथा सर्वसाधारणबाट लगानी गरिनेछ।
लक्ष्मी सनराइज बैंकले ९ अर्ब प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता जनाएको छ। सह–अगुवा बैंकका रूपमा ग्लोबल आईएमई बैंकले ७ अर्ब १२ करोड ६० लाख, सिद्धार्थ बैंकले ५ अर्ब लगानी गर्नेछन्। अन्य सहभागी बैंकहरूमा हिमालयन बैंक (३ अर्ब), नेपाल एसबीआई बैंक (३ अर्ब) र एभरेष्ट बैंक (२ अर्ब ५० करोड) रहेका छन्।
कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुन २७-२०७५ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको छ। नेपाल विद्युत प्राधिकरणसँग फागुन १७-२०७९ मा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत भइसकेको छ।
परियोजना निर्माण कार्य जुन २०२९ भित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा वार्षिक करिब १ हजार ५६ गिगावाट–आवर विद्युत आपूर्ति गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि यो आयोजना स्वतन्त्र उर्जा उत्पादकहरूबीच एक प्रमुख परियोजनाका रूपमा रहनेछ।
मुख्य प्रवद्र्धकका रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन्। यो सहकार्यले नेपालको नविकरणीय उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।