काठमाडौं । नोभेम्बर २०२४ मा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार कोरोना अघि अर्थात सन २०१९ को तुलनामा ८७.८७ प्रतिशतले पर्यटक आगमन बढ्दै १ लाख १४ हजार नाघेका हुन् । यस वर्षको नोभेम्बरमा गत बर्षको सोही अवधिको तुलनामा पर्यटक आगमनमा ५.४० प्रतिशतको वृद्धि देखिएको छ । गत बर्ष अर्थात २०२३ को नोभेम्बरमा नेपालमा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक नेपाल आएका थिए । नेपालका लागि यो पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति र पुनःप्राप्तिको सूचक भएको पर्यटन विभागले जानकारी दिएको छ ।
विशेष गरी भारतीय र अन्य प्रमुख विदेशी बजारहरूबाट आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको तथ्यांकमा देखिन्छ । यो समय नेपालका प्रमुख पर्यटन स्थलहरूमा, जस्तै काठमाण्डौ, पोखरा, चितवन र लुम्बिनीमा पर्यटकहरूको चाप बढेको छ। २०१९ को तुलनामा पर्यटन क्षेत्रको पुनःप्राप्ति भनेको भनेको ८७.८७ प्रतिशत हो । २०२४ को हालसम्मको कुल पर्यटक आगमन भने १० लाख ५५ हजार ५ सय ३३ रहेको छ ।
नोभेम्बारमा नेपालमा आएका कुल पर्यटकमध्ये भारतबाट मात्रै १७.४ प्रतिशत, अर्थात् १९ हजार ९ सय १५ पर्यटक आएका छन् । यस्तै यसै अवधिमा संयुक्त राज्य अमेरिकाबाट पनि १० हजार ९ सय ८१ पर्यटक नेपाल आएका छन्, जसले ९.६ प्रतिशतको हिस्सा बनाउँछ। यस वर्ष अमेरिकाबाट आउने पर्यटकहरूको संख्या सस्तो यात्रा र नेपालका विभिन्न साहसिक पर्यटन स्थलहरूको आकर्षणले वृद्धि भएको देखिन्छ।
चीनबाट ८.३ प्रतिशत पर्यटक, अर्थात् ९ हजार ४ सय ५८ पर्यटक नेपाल आएका छन्। चीनको पर्यटन क्षेत्रमा सुधारको संकेत देखाउँदै चीनका नागरिकहरूको नेपाल भ्रमणको सङ्ख्या बढेको हो।
यता बेलायत र बंगलादेशबाट क्रमशः ५.८ प्रतिशत (६ हजार ६ सय ११ पर्यटक) र ४.५ प्रतिशत (५ हजार १ सय ४८ पर्यटक) पर्यटकहरू नेपाल आएका छन्। यस वर्ष बेलायतका पर्यटकहरूको संख्या बढेको छ, जसमा नेपालका ऐतिहासिक र सांस्कृतिक स्थलहरू, विशेष गरी काठमाडौं उपत्यका र लुम्बिनीको आकर्षण छ।
अष्ट्रेलिया र थाइल्यान्डबाट क्रमशः ४.२ प्रतिशत र ३.९ प्रतिशत पर्यटक नेपाल आएका छन्।