Logo

टेलिकम कम्पनीका दशैं लक्षित अफर, सस्तो दरमा ठुला प्याकेजदेखि स्मार्टफोन जित्ने मौकासम्म

टेलिकम कम्पनीका दशैं लक्षित अफर, सस्तो दरमा ठुला प्याकेजदेखि स्मार्टफोन जित्ने मौकासम्म



काठमाडौं । गत बर्षको दशैं कोरोना महामारीका कारण रमाइलो नभएपनि यो बर्षको दशैंमा भने केही रौनक देखिएको छ । दशैंको पहिलो दिन बिहीबार अर्थात घटस्थापनामा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले आफ्नो आफ्नो घरमा जमरा राखेका छन् ।

laxmi

यस्तो बेला नेपालीहरुले शहरबाट गाउँमा जाने, आफन्त भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्यहरु अन्य समयको तुलनामा बढि नै गर्ने गर्दछन् । यहि अबसरमा नेपालमा संचालित टेलिफोन सेवाप्रदायकले आफ्ना सेवाग्राहीलाई आकर्षित गर्न विभिन्न अफर र प्याकेजको घोषणा गरिसकेका छन् ।

जसमा कम मूल्यमै धेरै सेवा लिन पाईने, आकर्षक उपहार प्राप्त गर्न सकिने, बोनस पाईनेलगायतका सुविधाहरु राखिएका छन् । हाल नेपालमा टेलिफोन सेवा प्रदायक गरिरहेका नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमले यस्ता प्याकेज तथा अफरहरु सार्वजनिक गरेका छन् ।

नेपाल टेलिकम

नेपाल टेलिकमले दशैं तथा तिहारलाई लक्षित गर्दै डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तर्गत २ सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा उपलब्ध हुनेछ । यस्तै ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा ९८ रुपैयाँमा उपलब्ध हुनेछ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो अफर मंगलबार (असोज १९) गते देखि कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी महत्वपूर्ण पर्वहरू तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

भ्वाइस सेवा अन्तर्गत कम्पनीले दशैंलाई लक्षित गरी २५ रुपैयाँमा ४५ मिनेट कुरा गर्न सकिने भएको छ । जुन एक दिन (२४ घण्टा) सम्म प्रयोग गर्न सकिने छ । त्यस्तै ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक उपलब्ध गराउने भएको छ ।

यसैगरी यो अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १ जीबी २४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसका लागि प्रयोगकर्ताले स्टार १४१५ ह्यास डायल गर्नुपर्ने हुन्छ । भने, ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

एनसेल

एनसेल आजियाटा कम्पनीले पनि यो बर्षको दशैंलाई लक्षित गरी स्मार्टफोन जित्न सक्नेगरी अफर सार्वजनिक गरेको छ । कम्पनीका ग्राहकले दशैंका बेलामा परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्न सक्नेछन् ।

कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसरमा असोज २१ गते बाट लागु हुने गरि यो आकर्षक योजना सार्वजनिक गरेको हो । उक्त योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १÷१ वटा गरि हरेक हप्ता २१ वटा स्मार्टफोन पाउँनेछन् । यस्तै यसबाहेक विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् ।

यो योजना ५ हप्ता अर्थात कार्तिक २४ गते सम्म संचालन हुनेछ । उक्त योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले माथि उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्ने सर्त रहेको छ ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने कम्पनीले जनाएको छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ ।

यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिने छ । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तरराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

स्मार्ट टेलिकम

अन्य टेलीफोन र सेवाप्रदायकजस्तै स्मार्ट टेलीकमले पनि दशैंलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले प्याकेज, अफरलगायतमा विशेष ध्यान नदिई अन्तरराष्ट्रिय कलमा सहुलियत दिनेगरी दशैंको अफर सार्वजनिक गरेको छ ।

दशैंको लहर विश्वभरी सस्तो दर नाम दिईएको उक्त अफरमा ‘दशैं आयो खाउँला पिउँला अब विदेश मनभरी कुरा गरौंला’ भन्ने नारा राखिएको छ । जसमार्फत कम्पनीले विदेशका विभिन्न देशमा गरिने कलमा आफ्ना ग्राहकलाई विशेष सहलियत दिने भएको हो ।

यो अफर किन्नका लागि कम्पनीले स्टार १४१ स्टार ८ स्टार २ ह्यास डायल गर्न सकिने बताएको छ । यस्तै यो अफरका लागि अनिवार्य फोरजी सेवा सक्रिय भएको हुनुपर्नेसमेत कम्पनीले शर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL