काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा मन्दीको खतरा अझै समाप्त नभएको तथ्यांकहरुले देखाएका छन् । अमेरिकाका प्रमुख आर्थिक सूचकांकहरूले अझै पनि मन्दीको संकेत गरिरहेका छन् ।
अग्रणी आर्थिक सूचकांक (एलइआइ) मे महिनामा लगातार छैटौं महिनामा घटेको छ । यो पछिल्लो ३९ महिनामा ३७ पटक घटेको छ, जुन अमेरिकाको इतिहासको सबैभन्दा लामो अवधि मध्ये एक हो । पछिल्लो छ महिनामा वार्षिक ५ प्रतिशतको गिरावट आएको छ, जसले देशमा मन्दीको खतरा अझै पनि रहेको संकेत गर्दछ ।
एलइआइ आफ्नो उच्चतम स्तरबाट १६ प्रतिशतले घटेको छ र नौ वर्षमा सबैभन्दा कम स्तरमा पुगेको छ । इतिहास हेर्ने हो भने, १९६० पछि, मन्दी हुनुभन्दा पहिले प्रत्येक पटक एलइआइमा दीर्घकालीन गिरावट आएको छ । यसले अमेरिकी अर्थतन्त्र मन्दीमा जान सक्ने डर बढाएको छ । यदि अमेरिकी अर्थतन्त्र मन्दीमा फस्यो भने, यसको प्रभाव सम्पूर्ण विश्वमा देखिनेछ । प्राविधिक रूपमा, लगातार दुई त्रैमासिकमा जिडिपीमा गिरावटलाई मन्दी भनिन्छ ।
यसैबीच, अमेरिकी केन्द्रीय बैंक फेड रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले ब्याजदर घट्ने कुनै आशा नभएको बताएका छन् । उनले भने–‘नीतिगत परिवर्तनको चरण अझै चलिरहेको छ र अर्थतन्त्रमा त्यसको प्रभावको बारेमा केही भन्न सकिँदैन । अहिले हामी पर्खिरहेका छौं । ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रमा केही प्रभाव पार्नेछ तर यसको प्रभाव कति पर्छ भनेर हेर्न बाँकी छ ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन माग गरेका छन् । धेरै फेड अधिकारीहरूले पनि उनको मागलाई समर्थन गरेका छन् ।