Logo

मध्ये मर्स्याङदी जलविद्युतको मर्मत कार्य सुरु, दुई हप्तामा सकिने

मध्ये मर्स्याङदी जलविद्युतको मर्मत कार्य सुरु, दुई हप्तामा सकिने



काठमाडौं । मध्ये मर्स्याङदी जलविद्युत आयोजनाको मर्मतकार्य सुरु भएको छ । जलविद्युत आयोजनाको ‘हब’ भन्दै गरेको लमजुङस्थित बेंसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्ये मर्स्याङदी जलविद्युत् केन्द्रको मर्मत कार्य शनिबारदेखि सुरु भएको हो । मध्ये मर्स्याङदी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायतले आयोजनामा असर पर्ने हुँदा केन्द्रको दोस्रो युनिटको मर्मत कार्य आजबाट सुरु गरिएको हो ।

laxmi

प्रत्येक वर्ष एउटा युनिटको मर्मत गर्ने क्रममा यस वर्ष केन्द्रको दोस्रो युनिटको मर्मत कार्य सुरु गरिएको केन्द्र प्रमुख शिवकुमार शाहले बताए । उनले भने, ‘नेपाल विद्युत् प्राधिककरणबाट १८ दिनसम्म युनिट बन्द गर्ने अनुमति आएको छ तर सकेसम्म त्योभन्दा छिट्टै मर्मत कार्य गरिसक्नेछौ ।’

केन्द्रको दोस्रो युनिटको पानी बन्द गरी पहिलो युनिटमा पठाएको र सो युनिटबाट पूरै विद्युत उत्पादन भइरहेको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार रनर फेर्ने, हेडकभर मर्मत, विद्युत् उपकरणहरुको जाँच तथा आवश्यक मर्मत, गाइडभेन फेर्ने, गाइटबुस फेर्नेलगायतका कार्य हुने भएको छ । ३ दिनसम्म टर्वाइनका पुर्जाहरु मात्रै खोल्न समय लाग्ने केन्द्र प्रमुख शाहको भनाइ छ ।

उनका अनुसार दैनिक २५/३० जनाले मर्मत कार्य गर्नेछन् । प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्ये मर्स्याङदी जडित उत्पादन युनिटको मर्मत गर्दै आएको छ । यस आयोजना ३५/३५ मेगावाटको गरी दुई वटा युनिटबाट ७० मेगावाट विद्युत् उत्पादन हुने गर्दछ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL