Logo

उद्योगमा लगानी खस्किदो, उर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्य

उद्योगमा लगानी खस्किदो, उर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्य



काठमाडौं । उद्योग क्षेत्रमा विदेशी लगानी घटेसँगै स्वदेशी लगानीमा पनि उत्तिकै मात्रामा गिरावट आएको छ । सरकारले पछिल्लो समय लगानी आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम, सम्मेलन तथा नयाँ अवधारणा ल्याएपनि आर्थिक बर्ष २०७४ ७५ को तुलनामा चालु आर्थिक बर्षमा लगानी ओरालो लागेको छ ।

अघिल्लो आर्थिक बर्षको जेठ मसान्तसम्म ५२ अर्ब ८७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएकोमा चालु आर्थिक बर्षको सोही अवधिमा १७ अर्ब ९४ करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानीको प्रतिबद्धता आएको हो । सरकारले केहि महिना पहिले मात्रै वैदेशिक लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलनको समेत आयोजना गर्याे तर व्यवहारमा भने उक्त सम्मेलनले कुनै असर पारेन ।

उद्योग विभागको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४ ७५ को तुलनामा चालु आर्थिक बर्ष खानी सम्बन्धि उद्योगमा भने लगानी उच्च रुपमा घटेको देखिन्छ । गत आर्थिक बर्षको जेठ मसान्तसम्म खनिजजन्य उद्योगमा २ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएपनि चालु अािर्थक बर्षको जेठ मसान्तसम्म भने यस क्षेत्रमा वैदेशिक लगानी १ करोड ८० लाखमै सिमित भएको छ । यस्तै गत आबमा खनिजजन्य १ उद्योगमार्फत मात्रै २ अर्ब बराबरको बैदेशिक लगानीप्रतिवद्धता आउँदा चालु आबमा भने २ उद्योगमार्फत पनि १ करोड ८० लाखको मात्रै लगानी प्रतिवद्धता आएको हो ।

यस्तै चालु आर्थिक बर्षको जेठ मसान्तसम्म उर्जा क्षेत्रमा भने कुनै पनि वैदेशिक लगानीको प्रतिवद्धता आएको छैन । गत आबको जेठ मसान्तसम्म उर्जा क्षेत्रका ५ उद्योगमार्फत ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

यस्तै सेवा क्षेत्रमा भने बैदेशिक लगानी प्रतिवद्धता गत आबको तुलनामा चालु आबमा बढेको छ । सेवा क्षेत्रमा गत आर्थिक बर्षको जेठ मसान्तसम्म १ अर्ब ९५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएकोमा यो बर्ष भने प्रतिवद्धता ४ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ । गत आबको तुलनामा पर्यटन क्षेत्रमा पनि वैदेशिक लगानी प्रतिवद्धता बढेको तथ्याङ्कले देखाएको छ ।

विभिन्न क्षेत्रमा बैदेशिक लगानीको प्रतिवद्धता घटेसँगै स्वदेशी लगानीमा पनि सोही अनुसार गिरावट आएको देखिन्छ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म विभिन्न क्षेत्रका ४ सय १६ उद्योगमार्फत २ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । तर गत आबको सोही अवधिमा भने ४ सय २७ उद्योगमार्फत ३ खर्ब ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

चालु आबमा स्वदेशी लगानीमा पनि खनिज जन्य उद्योगको क्षेत्र पछि परेको छ । यो क्षेत्रको गत आबमा ३ उद्योगमार्फत २ अर्ब २२ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएकोमा चालु आबमा भने १ उद्योगमार्फत जम्मा १ करोड २८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । चालु आर्थिक बर्ष उर्जा क्षेत्रमा २ खर्ब ३ अर्ब बराबरको लगानी प्रतिवद्धता आउँदा गत आब भने उक्त क्षेत्रमा २ खर्ब ९ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This