Logo

नवनियुक्त उद्योगमन्त्रीको पहिलो निर्णय : वाणिज्य नीति संशोधन गरिने

नवनियुक्त उद्योगमन्त्रीको पहिलो निर्णय : वाणिज्य नीति संशोधन गरिने



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । मंगलबार मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएका थिए ,।

्मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गरेका थिए। स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो ।

पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताए । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उनको भनाइ छ । यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्वनमा ध्यान दिइने उनले बताए । आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ । प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ ।

पाटन नगरपालिका–६ बैतडीका मन्त्री भण्डारी २०३० कात्तिक २० मा उदयसिंह भण्डारी र कमला भण्डारीको सुपुत्रका रुपमा जन्मेका हुन्। स्नातकसम्म अध्ययन गरेका उनको रुचिको क्षेत्र अर्थतन्त्र हो । विसं २०४६ को जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध भएका भण्डारी २०५० सालमा अनेरास्ववियु बैतडीको जिल्ला अध्यक्ष बनेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL