Logo

राष्ट्रिय वाणिज्य बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, ५ शाखा कार्यालय र ५ एक्टेन्सन काउन्टरको एकसाथ उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, ५ शाखा कार्यालय र ५ एक्टेन्सन काउन्टरको एकसाथ उद्घाटन



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकले यस्तो सुविधाको शुभारम्भ गरेको जनाएको छ ।

वार्षिकोत्सव समारोहमा भर्चुअलमाध्यमबाट मन्तव्य राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकले आगामी दिनमा प्रविधिमार्फत ग्राहकमैत्री सेवा दिन थप काम गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले बैंकले संचालनमा ल्याएको ५ शाखा कार्यालय र ५ एक्टेन्सन काउन्टरको एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदम चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताए ।

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ्ग सहितको ग्राहकमत्री सेवामा बैंकले जोड दिइरहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । कार्यक्रममा बैंकमा क्रियाशील तीन वटै ट्रेड यूनियनका अध्यक्षले शुभकामना व्यक्त गरे ।

२०२२ साल माघ १० गते स्थापना भएको बैंकका सातै प्रदेशका ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा बैंकको ५६ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार–२०७७ तथा अनलाइन बैंकिङ्ग खाताको भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL