Logo

बोनस र हकप्रद दिएर ८ अर्व पुँजी पुर्याउँदै प्राइम, कम खर्चमा बढी नाफा

बोनस र हकप्रद दिएर ८ अर्व पुँजी पुर्याउँदै प्राइम, कम खर्चमा बढी नाफा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३२ साउन, काठमाडौं । प्राइम कमर्सियल बैंक स्थापनाको सात बर्षमै मध्यमस्तरका बैंकहरुलाई उछिनेर नाफाको दृष्टिले उत्कृष्ठ ९ निजी बैंकको रुपमा उदाएको छ ।

यस बैंकले समकालिन धेरै बैंकहरुलाई पहिला नै पछाडि छोडिसकेको छ भने धेरै अघि स्थापित बैंक अफ काठमाण्डू, लक्ष्मी, सिद्धार्थका अतिरिक्त धेरै पुरानो र सशक्त बैंकमा अर्को एउटा बैंक थपेर ठूलो आकारको बनाइएको एनआईसी एसिया बैंकलाई समेत उछिनेको छ ।

एनआईसी एसिया बैंकको खूद नाफा अघिल्लो त्रयमासको तुलनामा १३ करोडले घटेर ६९ करोड भएको छ भने प्राइम कमर्सियल बैंकको अघिल्लो त्रयमासको तुलनामा २५ करोडले बढेको छ । प्राइम बैंकले अघिल्लो बर्षको तुलनामा पनि २५ करोडले नै खूद नाफा बढाएको छ ।

प्राइम बैंकको खूद नाफा ८० करोड रहेको छ र नाफाका दृष्टिले यो बैंक निजी बैंकमध्येमा ८ औं नम्वरमा परेको छ । ८ अर्ब पुँजी कायम गर्ने सन्दर्भमा आफ्नै तागतले पुँजी बृद्धि गर्न सक्ने तर तुलनात्मकरुपमा कम पुँजी भएको बैंकलाई अहिले मध्यमस्तरको एभरेष्ट बैंकको रुपमा चर्चा गर्न थालिएको छ । तर यस बैंकले एभरेष्ट बैंकको तुलनामा पुँजी बढाएको छ । यस बैंकले पहिलादेखि नै कम मार्जिनमा काम गरेकोले राष्ट्र बैंकले स्प्रेड घटाउन निर्देशन दिएपनि नाफामा प्रतिकूल असर परेन, बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले भने ।

गत असारसम्ममा नबिल बैंकले २ अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९७ करोड, एभरेष्टले १ अर्ब ५७ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब २९ करोड तथा ग्लोबल र प्रभू जस्ता बैंकले १ अर्ब खूद नाफा नघाएका छन । तर उनीहरुले अघिल्लो बर्षको तुलनामा खासै मुनाफा बढाउन सकेका छैनन् । यसको प्रमुख कारण मार्जिन घट्नु नै हो । राइट ब्याकका कारणले मात्र कतिपयले अघिल्लो बर्षको तुलनामा नाफा बढाएका छन । तर कारोबारबाटै अघिल्लो बर्षको तुलनामा नाफा बढाउनेमा पनि प्राइम नै रहेको छ । प्रमुख कार्यकारी अधिकृत मानन्धरले भने, आगामी ३ बर्ष निरन्तर बोनस दिएरै प्राइमले ८ अर्ब पुँजी कायम गर्न सक्नेछ । अन्तिप बर्ष केही नपुग चुक्ता पुँजीलाई कि त हकप्रद जारी हुनेछ कि ख वा ग बर्गको एउटासम्म संस्थालाई खरिद गर्न पनि सकिनेछ । अहिले यस बैंकले आफूभन्दा धेरै अगाडि स्थापित र बैंकिङ क्षेत्रमा दबदबा कायम गरिरहेका कतिपय बैंकलाई समेत उछिनिसकेकोले अव चाँडै सबै दृष्टिले उत्कृष्ठ ५ बैंकमा पर्नेगरी रणनीति बनाएर काम भै रहेको पनि जनाइएको छ । साथै बैंकले प्रकाशित गरेको वित्तीय विरण अनुसार कम खर्चमा बढी नाफा गरेको देखिन्छ ।

प्राइम कमर्सियल बैंकको प्रगति देखेर समकालिन बैंकहरु मात्र छक्क परेका छैनन, अझ पहिला खुलेका र लामो इतिहास भएका कतिपय बैंकहरु समेत प्रतिस्पर्धाको चुनौतीले त्रसित छन । प्रकाशित विवरण अनुसार प्राइमले सिद्धार्थ बैंकलाई पनि पछि पारेको छ । १३ बर्ष अगाडि स्थापना भएको सिद्धार्थ बैंकको खूद नाफा ७६ करोड छ भने प्राइमको ८० करोड ।

प्राइम बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड, निक्षेप ४१ अर्ब, कर्जा लगानी करिब ३३ अर्ब रहेको छ भने सिद्धार्थ बैंक लिमिटेडको निक्षेप ४४ अर्ब, कर्जा लगानी ३६ अर्ब र चुक्ता पुँजी २ अर्ब रहेको छ ।

सिद्धार्थ बैंकको आरओई(रिटर्न अन इक्वीटी) २० दशमलव २९ रहेको छ भने प्राइमको १९ दशमलव ९४ रहेको छ । बैंकका सेयरको बजारमूल्य भने सिद्धार्थको ७ सय ५० भन्दा बढी छ भने प्राइमको ५ सय ४० को हाराहारीमा रहेको छ । गतबर्षको तुलनामा प्राइम बैंकले २५ करोड र सिद्धार्थले ६ करोड बढी खूद मुनाफा आर्जन गरेका छन ।

एउटा नेवार समुदाय र अर्को मारवाडी समुदायको पक्कड रहेको भनेर चिनिएका यी दुई बैंक आपसमा मर्ज हुने चर्चा पनि एक समय खुब चलेको थियो । तर मर्जको कुरा नमिलेपछि प्राइमले पुँजी बढाउँदै गएको छ । प्राइम बैंक सूत्रका अनुसार यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कम्तीमा २० प्रतिशत बोनस सेयर वितरण गर्नेछ । राष्ट्र बैंकले रु ८ अर्ब पुँजीको निर्देशन नदिदै यस बैंकले बर्षैपिच्छे कम्तीमा २० प्रतिशत बोनस सेयर दिएर पुँजी बढाउँदै जाने उद्घोष गरिसकेको थियो ।
सिद्धार्थको पुँजी कम भएकोले २५ देखि ३० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने स्थिति छ । त्यसैले बजारमूल्य केही माथि रहेको छ ।

प्राइमले समाकालिन बैंकका अतिरिक्त बैंक अफ काठमाण्डू लक्ष्मी जस्ता बैंकलाई पनि उछिनिसकेको छ । यस बैंकले अहिले अन्य आम्दानी शीर्षकका ननफण्डिङ कारोबारबाट पनि राम्रो मुनाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL